Skip to content

सी-४ धान र मेरो अठोट

मैले विध्यावारिधी प्राप्त गरेर पहिलो रोजगारको निम्ति फिलिपिन्स स्थित अन्तराष्ट्रिय धान अनुसन्धान संस्थानमा पुगेकै दिन संस्थानका प्रमुख तथा महानिर्देशक डा रोबर्ट जिग्लरले मलाई स्वागत गर्दै भन्नु भएको थियो ‘सी-४ धान सफल भए, नोवेल पुरस्कार पक्का ।’ त्यसै क्षणबाट ममा हौसला अकासिएको थियो- धेरै माथि- बहिरमण्डल भन्दा माथि ।

महानिर्देशकको कक्षामा फिलिपिनो र विदेशी जम्मा गरी ६ जना पाहुनाहरु थिए। उनीहरुले चिटिक्क सूटमा सजिएको पुड्को कदको गोरो अनुहार भएको एसियाली केटो मलाई हेरे । मेरो शिरदेखि जुत्तासम्म नियालें । उनीहरु मेरो पुड्कोपन र नोवेल पुरस्कार बिचको नाता खोजिरहेका थिए।

मलाई उहाँका पाहुनासित परिचय गराउँदै महानिर्देशकले भन्नु भएको थियो ‘हाम्रा युवा वैज्ञानिक डा. गोविन्द रिजाल । अब, उहाँले सी-४ धान बनाउँनु हुन्छ ।’

मैले थाहा पाएदेखि दिनमा जति छाक खाना खाएँ प्राय प्रत्येक छाकमा भात खाएको छु । म जन्मदा यो पृथ्वीको जनसंख्या चार अर्ब भन्दा थोरै थियो र अहिले त्यो बढेर सात अर्ब नागिसकेको छ जसमा धानको भात खाने जनसंख्या आधा भन्दा धेरै छन् । म जस्ता छाकै पिच्छे भात खानेहरु एसिया र अफ्रिका महादेशमा अरबौंको संख्यामा छन् । धेरै भात र कम प्रोटिन खाएर म पुड्को भएको हुँला मैले मनमनै सोचें ।

एकजना पाहुनाले समयमागदै मैले कामगर्ने प्रोजेकट सी-४ धान केन्द्रको पृष्ठभूमि सोधे । लामो ईतिहासलाई सकेसम्म छोटो पार्दै मैले भनें, दोस्रो विश्व युद्धपछि अकासिएको विश्व जनसंख्या कृषि वैज्ञानिकहरु र कृषकहरुले उत्पादन बढाएर थेगेका थिए जसलाई पहिलो हरित क्रान्ति भन्छौं । हरित क्रान्तिका बेला र त्यसपछि विकासित धानका जातहरु अधिकतम क्षमतावन हुँदाहुँदै पनि हालकै रफ्तारमा बढ्दो जनसंख्यालाई खान पुर्याउन धानका ती जातहरूबाट सम्भव छैन । तिनको अधिकतम उत्पादन दिने क्षमता प्राप्त भइसकेको छ र तिनै जाति र प्रजातिमा भर पर्नु विवेकशिल कुरा होईन । अब सृजना गरिने धनका नयाँ जातहरु स्वास्थ्यवर्धक, स्वादिष्ट, छिटो पाक्ने, रोग किरा प्रति प्रतिरोधात्मक क्षमता भएका, सुख्खा र डुबान सहन सक्ने, सिमित मलजलमा उच्च उत्पादन दिने, विभिन्न भौगोलिक वातावरणमा फस्टाउने जातहरु हुनु पर्छ र हुने छन् । त्यसको एउटा उपाय हो धानमा भएको सी-३ प्रकाश संश्लेषण तन्त्रलाई जैविक-ईन्जिनियरिङ् मार्फत सी-४ प्रकाश संश्लेषण तन्त्रमा परिणत गरी उच्च उत्पादनशिल धानको जात तयार गर्ने- जुन धानलाई सी-४ धान भनिने छ ।

मेरो स्पष्टिकरणको अन्त्यतिर आँखा खुम्च्याउने एक अधिकारीले सोधे सी-३, सी-४ धानहरु के हुन?

अरुहरुले पनि उसको प्रश्नको समर्थनमा टाउको हल्लाए ।

मैले मेरो गला सफा गरें र उत्तर दिएँ वनस्पति जगतमा बोट बिरुवाहरु प्रकाश संश्लेषणको आधारमा मुख्यतः तीन श्रेणीमा विभाजन गरिएको छ । अकासबाट कार्बनडाई-अक्साईड लिएर जुन बिरुवाले पहिलो कम्पाउण्ड तीनवटा कार्बन (वा सी-३) भएको ३-फोस्फोग्लिसरेट, बनाउँछन त्यस्ता वनस्पतिलाई सी-३ जातका बोटबिरूवा भनिन्छ । जस्तै कि धान, गहुँ, आलु, स्याउ, भट्टमास, आदि ईत्यादि ।

दोस्रो थरिका बिरुवाले अकासबाट कार्बनडाई-अक्साईड लिएर पहिलो कम्पाउण्ड चारवटा कार्बन (वा सी-४) भएको अक्ज्यालो-एसीटेट बनाउछन् त्यस्ता वनस्पतिलाई सी-४ जातका बोटबिरूवा भनिन्छ । जस्तै कि मकै, उखु, कोदो, जुनेला, आदि ईत्यादि। सी-४ बिरूवाहरुमा थोरै मलजलमा उच्च उत्पादन दिने, उच्च तापक्रम र खडेरी सहन सक्ने क्षमता हुन्छ । अबको हाम्रो प्रयास भनेको सी-४ बिरुवाका सी-४ तन्त्र र गुणहरु वैज्ञानिक विधिबाट सी-३ धानमा प्रत्यरोपण गरि सी-३ धानलाई सी-४ धान बनाउने हो ।

म मेरो कार्यको विस्तृत जानकारिमा जाने छाँटकाँट देखेर हुन सक्छ महानिर्देशकले हाम्रो वर्तालापलाई बिचैमा रोकेर सफलताको शुभकामना दिदै मलाई छुट्कारा दिनुभयो ।

मेरा पैताला लस वेनसको हरियो चौरमा थिए तर हौसिएको मन बहिरमण्डल भन्दा बाहिरै थियो । सपनाले मात्र अठोट पुराहुने वाला थिएन मैले पसिना झार्नु थियो, दिमाग खियाउनु थियो, विज्ञानको समुद्रमा डुब्नु थियो, सी-३ र सी-४ को अध्यान र विश्लेषणमा एकाग्र मनले लाग्नु थियो, भोक-निन्द्रा बिर्सनु थियो र त्यस्तै हुँदै गयो ।

काम थियो बोट बिरुवाहरुको कोषिका कोषिका अध्यान गर्नु, सी-३ र सी-४ बनाउने जीनहरुको खोजिगर्नु। सबै सी-४ वनस्पतिका पुर्खाहरु सी-३ वनस्पति नै हुन्। पृथ्वीको विभिन्न समयमा भएका जलवायु र वातावरण परिवर्तनका प्रतिकुल असरहरुबाट बाँच्न वनस्पतिहरु सी-३ बाटै सी-४ बनेका हुन, जस्को लागि लाखौं वर्ष लागेको थियो जुन परिवर्तन धानमा चाहिएको छ तर प्रकृतिक रुपमा भएको भेटिएको छैन । प्रकृतिले लाखौं वर्ष लगाएको प्रकृयालाइ बिज्ञानले अविस्कार गरेका प्रविधि प्रयोग गरेर केहि दशकमै यो परिवर्तन ल्याउनु पर्ने वाद्यता छ, बढ्दो जनसंख्यालाइ बचाई र हुर्काइ राख्न ।

सी-४ बिरूवाहरुको बंशाणुगत ईकाइहरुलाई एक एक गर्दै निशक्रिया गर्ने, त्यसबाट बनावटमा परेको असर हेर्ने, चाहिएको परिवर्तनहरु देखे ति बिरुवाको डीएनए निकाल्ने, पूर्ण जीनोमको प्रकृतिक त परिवर्तित कोडहरु अध्यान गर्ने, विशवास लागे सी-३ धानमा हाल्ने र परिवर्तन हेर्ने । सहि गुण दिए बिउ उत्पादनको लागि राख्ने नत्र पूर्ण रूपमा नस्ट गर्ने । अगाडी बढाउन छानिएका बिरुवाको बारेमा प्राय प्रत्येक दिन जसो दर्जनौ वैज्ञानिकहरुसँग नतिजाको बारेमा छलफल गर्ने, नयाँ रणनिति बनाउने, कार्ययोजना बनाउने र लागु गर्ने । त्यसपछि प्रत्येक वर्ष सयौ वैज्ञानिकहरुको भेलाबाट पारित गर्ने र अघि बढ्ने ।

ठूलो खेत, प्रस्सतै खेताला, विशाल हरितगृहहरु, उच्चकोटिको प्रयोगशाला, तिक्खर प्रविधि र अनुभवि वैज्ञानिकहरूको संगतले गर्दा विज्ञानको महासागरमा डुबेको थाहै भएन। भोजन प्रथमिक्ता भन्दा वाहिर पर्यो, मित्रहरूसँगको भेटघाट पातलियो, निन्द्राले समय पाएन ।

काम शुरु गरेको तेस्रो वर्ष नपुग्दै, संस्थानको पाक्षिक पत्रिकाको अन्तराष्ट्रिय प्रकाशन ‘राईस टुडे’मा एउटा लेख प्रकाशन भयो जहाँ बिटल्स बैण्डका चार सदस्यसँग तुलना गर्दै शान्ता जी र मेरो नाम सी-४ प्रयोजनाको तेस्रो र चौथो सदस्यको मर्यदाक्रम दिएको थियो। प्रथममा सी-४ धान परियोजनाका संस्थापक डा जोन सेही जो अवकास भइसक्नु भइको छ। डा सेहीलाई रानी एलिजाबेथले सी-४ धानको अग्रगामी कदम शुरुगरे बापत सरको उपाधि दिनुभएको छ। दोस्रोमा परियोजनाका प्रमुख डा विलियम पल कुईक हुनुहुन्छ । त्यो लेख अन्तराष्ट्रियकरण हुने बितिकै हाम्रो जीवनमा त्यहि अनुसारको ताप र दबाब पर्न थाल्यो । सबैको प्रश्न र बधाईहरुलाई हामीहरुले जोस र जाँगरमा परिणत गरिरहयौं ।

ती वाह वाहको पछि चलिरहेका अवैज्ञानिक, अमर्यादित खेलहरुबाट हामीहरु अनविज्ञ रह्यौ। एक वैज्ञानिकको मापन उसको आविस्कार र आविस्कार सम्बन्धि लेखहरु नै हुन। हाम्रो ध्यान सी-४ विज्ञान सम्बन्धी लेखहरू प्रकाशनमै केन्द्रित थियो ।

सी-४ धानको महिमा विश्वब्यापी भयो । सम्भव असम्भवका बादबिबादहरु भए। सी-४ धान ‘गोल्डन राईस’ पछिको जी.एम. धान बन्ने छ, गुण, अवगुण र बैगुणका कुरा आए। विरोध र समर्थनका कुराहरु निस्के। पुराना आर्थिक दाताहरुले दिदै आएको दानको राशि घटाए, नयाँ नयाँ दाताहरू देखा परे ।

हाम्रो पछि खेल खेल्नेहरु सामने आए, शक्तिशाली बनेर । धानै नरोप्ने, भातै नखाने देशका धानै नदेखेका वैज्ञानिकहरु आए हामीलाई पाखा लगाउँन। उनिहरूको पछि उनिहरुको देशको समर्थन थियो- उनीहरुका देश आर्थिक दाता बनेका थिए। शान्ताजी र म आर्थिक अनुदान दिन नसक्ने बिचरा देशका पुड्का मान्छे पर्यौं। हाम्रो बृद्धि विकासमा सिमा तोकिने देख्यौं ।

प्राकृतिक संयोग पनि त्यसतै पर्यो। २०१५ साल, फिलिपिन्सलाइ हुनडरिले तहसनहस बनायो अनि नेपालमा क्रमिक रुपमा ठूलठूला भूईचालोहरु गए । शान्ता जी नेपाल फर्कने जिद्दी गर्न थालिन । ममा दुई विलक्प बाँकि रहेः साम, दाम, दण्ड, भेद सहेर वा प्रयोग गरेर सी-४ धानको अविस्कारमा घुँडा टेकिरहने वा शान्ता जीसँग नेपाल फर्कने । मैले शान्ताजीको योजना रोजें । हाम्रा सपनालाई बाडुलीमा राखेर नेपाल फर्कियौं त्यतिखेर जतिखेर नेपाल छिमेकिले लगाएको नाकाबन्दिको सकसका माझ निसासिईरहेको थियो ।

हामीले सी-४ परियोजना छोड्ने निर्णय गरेको र छोडेको बिचका समयमा, परियोजना माथिको स्वामित्व फिलिपिन्सबाट अक्स्फर्ड विश्वविध्यलयमा सर्यो। उता, हामी रहे नरहे पनि सी-४-धान अविस्कारको काम चलिरहेको छ यूकेमा ढलमल ढलमल, यता ममा नयाँ सोच पलाइरहेछ, विश्वासिलो सहयोगीको खोजिमा छु । नेपालमा एउटा उदाहरण छोड्ने मनसुबा छ । नयाँ प्रविधीहरुप्रति नकारात्मक भावना बोक्नेहरु माझ विश्वास बढाउने योजना लागु गर्ने अठोट छ ।

Source: Bhutanese Literature

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.