Skip to content

बडेमानका शिखर वार्ता

क्योटो, जापान

अन्यायदाता (अदा) शरीरका सम्पूर्ण खुम्च्याउन मिल्ने अंगहरु पूर्ण क्षमतामा क्कर्याएर कुजुजाम्पो (नमस्कार)को अभिवादनमा घोप्टिएर ध्यानाकर्षण गर्दा फ्याबियो सोफामा बिराजमान अन्यायरक्षक (अर) रिचेबोर्गको घूंटकि र गुर्खा ब्ल्याक ड्रागोन सिगारको धुवामा रनथन्निरहेका थिए।

अदाः महाराजको जय होस्।

अरः आऊ मन्त्री, धेरैपछि तिम्रो जुँगाको दर्शन मिल्यो। के बिपत लिएर आयौ आज फेरि?

अदाः महाराज, मन्त्रीको प्रतिष्ठाबाट लछारेर दूत बनाउनुभएको दुई दशक भइसक्यो, मलाई मन्त्री शब्द सुन्दा चाबुकले चुटेकोभन्दा वेदना हुन्छ । मलाई त ‘दानब गोमन’ भनेर साम्बोधन गरेकै मनपर्छ।

अरः दानब गोमन, त्यही त। तिम्ले दुई दशकमा पनि मन्त्रीबाट दूत बनाएको शुभ मुहूर्तको शुभ मूल्याङ्कन गर्न सकेकाछैनौ है?

अदाः महाराज, हजुरले सबैको अधि सिंहासन त्याग गरेजस्तो गरेर आफ्नै शुपुत्रलाई राज्यभिषेक गराएर, अझै आफैँ सक्रिय हुनुहुन्छ। मलाई त्यस्तो सौभाग्यको सानो अंश पनि कहाँ मिल्यो र?

अरः सौभाग्य नमिलेको कहाँ हो र दानब गोमन, तिमीले घटनाको मनन र उत्तम विश्लेषण गर्न नसकेको मात्र हो। जुनबेला यो खुल्ला रहस्य पत्ता लगाउनेछौ, त्योबेला म सम्झने छु मैँले ठिकै मान्छेलाई मन्त्री बनाएँछु भनेर। (आयातित रक्सीका बोतलहरुको सङ्ग्रहतर्फ चोर औलाले औंल्याउँदै) लौ भन, कुन बोतल रित्याँउ?

अदाः आज म कुनै ठोस विषयमा छलफल गर्न हैन, महाराजले मलाई दिने समयजति तिता मिठा कुरा गरेरै बिताउने सोचेर आएको छु।

अरः श्रीमतीसँग विवादगरेर आएको हो?

अदाः हैन हैन, आज म महाराजसँग भलाकुसारीको मन बनाएरै आएको हुँ। विगतमा गरेका कामहरूको, बेईमानहरुको कुरा पनि गरौँ, भविष्यका सम्भावनाहरुको कुरा पनि विश्लेषण गरौँ भनेर हो।

अरः दानब गोमन, तिमी आफैँलाई सफल व्यक्ति ठान्छौ कि विफल व्यक्ति?
अदाः पहिला पहिला सफल व्याक्ति हुँ जस्तो लाग्थ्यो, अजकल विफल व्याक्ति हुँ जस्तो लाग्न थालेको छ। हुन त हाम्रा पिता पुर्खाहरू पनि उत्तरबाट लखेटिएरै आएका हुन्। हामीहरुपनि शरणार्थी नै त हौँ। के सफल के विफल ठान्नु र?

अरः तिमी भालेको शिउर हुन चाहन्छौ कि गाईको पुच्छर?
(धेरै बेर मौनता छाउँछ)

अरः पछुतो केमा छ?

अदाः मेरो त पछुतोहरू पनि दिन प्रतिदिन दोधारपूर्ण बन्दै जाँदैछन्। धेरै समयसम्म तेंगे (आरावाल) हरुलाई शत प्रतिशत खेद्न नसकेकोमा पछुतो थियो। अजकल तिनै तेंगेहरुको गुणगान छ, प्रशंसा छ, संसारभरि छात्ति फुलाएर घुमेकाछन् । म यता गुमनाम छु। मेरो त साखासन्तान पापीको वंशज कहालिने भयो। एक डेढ लाख तेंगेहरु लखेटेर के भयो र? यहाँ देशमा २० को १९ भएको छैन। यिनीहरूको जनसङ्ख्या घटनुको सट्टा बढेको बढेकै छ।

अरः फेरि एक मौका मिले के फरक पार्छौ र ?

अदाः ऐलेको स्थिति धेरै भिन्न छ पहिलेकोभन्दा। ऐलेको आफ्नो पक्षको विरोधी? सबै विरोध गर्न मात्र सकुसल छन्। यस्तो समयमा त दह्रो भएर भाँचिनु भन्दा नरम भएर झुकनु ठिक देख्छु। तरै पनि, फेरि एकपटक सबै आइपर्ने दोष जति शिरोपर गर्दै तेंगेहरुका शाखा सन्तान बढारेर यो देश तेंगेमुक्त बनाउने तुस अझै जिउँदै छ।

अरः यो देश तेंगेमुक्त गराएर, यहाँका गल्लि, नालि, फोहोर, सफा गर्ने काम कसलाई लगाउँछौ नि?
(मौनता छाउँछ, उत्तरविहिन अदा लाजले शिर निहुराउँछन्)

अरः हाम्रो देशमा कम्तीमा पनि पच्चिस प्रतिशत मान्छे गरिब चाहिन्छ । नत्र यो देशमा काम गर्ने मान्छे बाहिर मुलुकबाट आयात गर्नु पर्नेहुन्छ। ल भन त, बाहिरबाट कामदार ल्याउने कि यहीका तेंगेहरुको संरक्षण गर्ने ?

अदाः के भन्नु र महाराज, यी तेंगेहरुको कहाँ काम गरेर खाने जात हो त? दुई छाक खान पुग्ने भएपछि डासो (अधिकारी) भइहाल्छन्। नेता भइहाल्छन्। सर्वज्ञानी बनेर गफ ठोक्छन्। कसरी सहनु? मौसुफ सरकारले नै यस्ता कतिलाई जिल्लाका, विद्यालयका, न्यायालयका, अस्पतालका अधिकारी बनाइबक्सियो। विभिन्न निकायका प्रमुख, मन्त्रीसमेत बनाइबक्सियो। हामीले दिएको सुझाव मानिबक्सेन।

अरः चौपाय बान्न दाम्लो चाहिन्छ, मान्छे बान्न पद चाहिन्छ। जहिले पनि जनसाधारणमा यो भान होस् कि उनीहरूका लागि, नभए उनीहरूका छोराछोरीको लागि, अझ नभए उनीहरूका नातिनातिनीहरुका लागि माथिल्लो दर्जाको पद छ । एक दुईजना अधिकारी बनुन् वा मन्त्री नै। सेवा हाम्रै गर्छन् र गर्ने बानउनुपर्छ।

अदाः (नमस्कार गर्दै) कुरा बुझेँ, धन्य भएँ। तेंगेहरुलाई लखेटनुभन्दा यहाँ जोत्नै ठिक रहेछ।

अरः उनीहरूले जोतिएको थाहा नपाउन नि। फेरि प्रार्थना छोडेर विरोधमा लाग्लान्।

अदाः क्यम्प उठ्छ जस्तो छ, अब एक दुई वर्षभित्रै। सबै विकसित देश तर्फ लागे। हाम्रो देश कै बदनाम हुँदैछ। नयाँ ठाउँमा बढाइचढाइ गरेर हाम्रो खोइरो खन्दैछन् । हजुरले विदेश भ्रमण नगर्नु भएको पनि दशकौँ भइसक्यो।

अरः बल्ल ठिक कुरो उठायौ । हाम्रो देशको प्रमाणपत्र हुनेहरु प्राय थन्किसके। अब रहेकाहरु प्राय तिनै तेंगेका आयतित जुवाइ र बुहारीहरु छन्। अन्तिम अन्तिमतिर पुनर्वासमा जानेहरुको छ महिना जतिको तथ्याङ्क सर्वजनिक गर्नु। तेंगेहरु एक प्रतिशत जति पर्लान्। त्यही आधारमा दुई तीन सय तेंगेहरु फर्काएर ल्याउनु पर्छ। अन्तराष्ट्रिय नजरमा पापमोचन हेतु। अनि त कुनै अन्तराष्ट्रिय अदालतले पनि छुन सक्दैन। अनि भ्रमण गरौला नि देश विदेश भाषण दिँदै।

अदाः विकसित देशमा पुगेकाहरु र तिनका सन्तानले त सधैँ हामीलाई सराप्ने र हाम्रो विरोध मात्रै गर्ने भए नि। युगौँ युग, पुस्तौँ पुस्ता सराप र विरोधको विषय बन्ने भयौँ जस्तो लाग्छ ।

अरः त्यसो हुनदिनु भएन नि। त्यसैले त तिमीलाई दूत बनाएको छु। तिमीले विकसित देश गएकाहरुको स्तिथि अध्ययन, अनुसन्धान गर्नु। गल्तीबाट पाठ नसिक्नेलाई खल्तिबाट पाठ सिकाउने ठाँउ हुन ती देशहरू। राम्रो काम, प्रगति, उन्नति गरे भने, तेस्रो देश पुनर्वासको परिबन्द मैँले मिलाएको भन्ने समचार फैलाउनु। दुःख पाए, बेहाल हुँदै गए भने उनीहरूकै नेताहरूले सहिछाप गरेर पठाएको भन्दिनु ।

अदाः हजुरले गरेको भनेर, सजिलै विशवास दिलाउन सक्छु। एक दुई भेटका कुराहरू बङ्ग्याउँदा मिलाउन सकिन्छ। तर तिनीहरूलाई तिनका नेताहरूको विरोधमा उठाउन झन् झन् गाह्रो पर्दैछ।

अरः किन आत्तिएको ? तेस्रो देश पुनर्वासको कार्य लागु गर्नु अघि लगभग सबै नेताहरूको स्वीकृति सहिछाप लिएको सबै प्रमाण मसँग छ। आवश्यक परे एकएक गर्दै चुहाइदिउँला नि ।

अदाः दुई तीन सय तेंगेहरु फर्काएर ल्याउने त भन्नु भयो। तिनलाई कस्तो व्यवहार गर्ने?

अरः अति उत्तम। अति उत्तम व्यवहार गर्नु । छरपष्ट, विभिन्न ठाँउमा बसाउनु। एकदुई परिवार यही राजधानी नजिकका ठुलठुला घरमा ह्वीलच्यार चल्ने बाटो सम्मको, सबै सुविधा दिएर पाल्नु। तिनको सञ्चार नजानिँदो तरिकाले रेकर्ड गर्नु, बस्। बाहिरबाट जो जो हेर्न आउँछन्, तिनैलाई देखाउनु र अन्यलाई पनि समान सुविधा दिएको छ भन्दिनु ।

अदाः त्यसपछि त हामीलाई कसैले नराम्रो विशेषण प्रयोग गर्दैन, र हामी पनि निर्ढुक्क संसार घुम्न पाउछौँ। महाराजको जय होस्।

अरः तिम्लाई ऐले सारा संसार घुम्न कस्ले रोकेको छ र?

अदाः म मन्त्री हुँदा भएका हत्या, बलात्कार, धावा, धरपकड, नागरिकको देशनिकालामा सबैले मलाई जिम्मेवार ठान्छन् । म जहाँ पनि गिरफ्तार हुन…. (अदा टक्क रोकिए, अर मुस्कुराए, दुवै बेस्सरी हाँसे र जीवनमा पहिलोपटक अँगालोमा बाँधिए )

अरः म ढुक्क भएँ मैले ठिकै मान्छेलाई मन्त्री बनाएँछु।

अदाः महाराज, मलाई मन्त्रीबाट दुत बनार डिप्लोमेटिक ईम्मुनिटी (कूटनीतिक प्रतिरक्षा) को कवच दिनुभएको रहेछ। हजुरजस्तो महाराजको सेवक बन्न पाएकोमा सदैव ऋणी रहनेछु।
महाराजको जय होस्।

Source: Bhutanese Literature

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.