Skip to content

पुस्तक-विमर्श: छाप्रो नम्बर ५५

पथरी शरणार्थी शिविरका सेक्टर एच छाप्रो नम्बर ५५ की गङ्गा दमाई र सेक्टर जी छाप्रो नम्बर ५५ को देव विश्वकर्मा बिचको प्रेम र वियोगको लुकामारीमा आई परेका उताव चढावको कथामा बेरिएको उपन्यास हो छाप्रो नम्बर ५५ । स्कूल पढ्दै गर्दा समकक्षी गङ्गा र देवबिच आत्मीयता बढ्दछ । शरणार्थी शिविरको समाजले पिँधमा राखेको दमाई परिवारको दुःख वेदना बिच पलाउँदै गरेको प्रेम र आँटको कथालाई मूलाधार बनाएर लेखिएको कृतिमा सुरुबाटै गरिबी, नकारात्मक भेदभावले पाठकका भावनाहरूलाई तरङ्गित गर्छन् ।

निधारमा सेतो टीका भएको साधुको बिहानको पूजा पानी छुने कमिनीलाई थान्कोमा बस्ने बनाउन समाज तयार हुन्छ । देवकी आमाले कुटाई खान्छिन् र चोखिने पैसा तिर्छिन् । शरणार्थी शिविर र त्यहाँका शैक्षिक संस्था भित्र थरको आधारमा गरिने अमानवीय विभेदले दलित बनाउँछ । सिद्धार्थ गौतम दुःखको मलम खोज्न राज महल त्यागेर अन्धकारमा पसे झैँ प्रेम अङ्कुराउँदै गरेको माहौल छोडेर गरिबीको निदान खोज्न देव शिविर त्यागेर श्रम बजारमा प्रवेश गर्छन्- सिद्धार्थ गौतमले जस्तै कसैलाई सुईको नदीकनै । देवको हराइसँगै गङ्गाको जीवनमा दुःख र दरिद्रताले घेर्छ ।

गङ्गाको विवाह हुन्छ । भोकको उपचार गर्न नसक्ने एकल अभिभावक- बाबुको खुट्टाको उपचार गर्न सक्ने अवस्था थिएन- मृत्यु हुन्छ । खपी नसक्नुका छिमेकीहरू आइपर्छन् । उनको श्रीमान् श्रम बेचेर जीवन सुधार्ने सपना बोकेर भारत जान्छन् र ब्लड क्यान्सर बोकेर फर्कन्छन् । कसैसँग दुःखको कुरा बाँड्नु भन्दा एक्लै दुःखी हुनु नै गङ्गाको दिनचर्या बन्छ । आपतमा विष किन्ने पैसा सम्म नभएपछि स्वाभिमानलाई फाल्गुनन्द चोकको धूलोसँग मिसाएर भिख माग्न बस्छिन् गङ्गा आफ्नो श्रीमानको रोगको उपचार खर्च जुटाउन । बाल्य कालको सखीको सहयोगले आँट बढाउँछ । क्यान्सर रोग र उपचारको द्वन्द्व गङ्गाको श्रीमानलाई क्यान्सरले जितेर लान्छ ।

समयले कोल्टो फेर्छ । एक दिन गङ्गा एकलै अमेरिका पुग्छिन् जहाँ सहयोग गर्न देव प्रकट हुन्छन् । उपन्यासको केही अंशमा यथार्थ नामहरू राखेर कथालाई जीवन्त बनाइएको छ । नारी प्रदान उपन्यासमा गङ्गाको जीवनी, उनको जीवनबाट सुरु हुने हाँगा वा जीवनमा टुङ्गिने भङ्गलाहरु समेटिएको कृति छाप्रो नम्बर ५५ रमेश दियालीको प्रथम उपन्यास हो । २३० पृष्ठ लामो उपन्यासमा कहीँ कतै दोष देखाउने ठाउँ पाइँदैन भाषा, व्याकरण वा कथाको बहमा । सवाल्टन मध्यको अति सवाल्टन पात्र, शरणार्थी भित्रको दलित समुदायको गरिब नारीको गाथामा रचिएको कृति उपन्यास विधाको दर्बिलो उदाहरण हो । त्यसो हुँदा हुँदै पनि नेपथ्यबाट उपन्यासकार दियाली बोल्छन् “ नारी पात्रको रूपमा प्रस्तुत गरे पनि यो उपन्यास मेरो आफ्नै भोगाई हो ।” यदि रमेशजीले आफ्नै जीवन गाथा बनाएको भए आख्यान विधामा नयाँ उचाइ छुने कृति बन्ने पक्का थियो भन्ने लाग्छ मलाई । मलाई रमेशजी परिष्कृत स्रष्टा लाग्यो । पुनः वास पछि गङ्गाको जीवनमा गरिबी र भेदभावले छोड्छ कि गाँजी रहन्छ ? रमेशजीको आगामी कृतिहरूमा पाउने इरादा राखी यस्तै अरू धेरै कृतिहरूको अपेक्षामा छु ।

Source: Bhutanese Literature

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.