Skip to content

गुमनाम एक मृत्यु

जे एन दाहाल

सामाजिक सञ्जाल मार्फत एउटा दुखद खबर बाहिर निस्कन्छ । म पत्याउन सक्दिन । डा. गोविन्द रिजाल  के ..ऽऽ ? मुटु चिसो हुन्छ । अकस्मात् आएको  अत्यासलाग्दो, अकल्पनीय खबरले स्तब्ध भएँ । थचक्क बस्छु ।

त्यो मे ५ तारिखको दिन सोधखोज गरी बुझ्न थाल्छु । सम्पर्कका लेखकहरूलाई फोन गर्छु, केही पत्रकारहरूलाई सम्पर्क गर्छु उठ्दैन । च्याट बक्समा ती मित्रहरूलाई अविश्वासिलो खबर के हो ? तथ्य बुझ्न  मेसेज छोड्छु । लोद्राइ भुटानमा जन्मनु भएको यहाँ काठमाडौं आएर यति चाँडै अस्ताउन सक्नु होला भन्ने कसरी पत्याउनू ।

खोजी गरेँ डिजिटल पत्रिकाहरूमा – यहाँको मृत्युको खबर । अर्थात् कुनै दुर्घटनाको खबर । सविस्तार कतै केही पाइएन । मूलधारका कुनै पत्रिका या रिपोर्टमा नआउँदा तिनले पनि भुटानी भएकाले पत्याएनन्  कि भन्ने कुराले औधी दुःखी बनायो  । एक कृषि वैज्ञानिक, एक प्रा.डा गुमनाम  अस्ताएको देख्दा भन्न मन लाग्दो रहेछ – कतै मिडिया पनि शोक मनाउन कोरा पसेका थिए कि !

केही घण्टापछि सबैतिरका साथीहरूबाट जवाफ मिल्छ – त्यस्तै दुखद खबर आयो ! दिल भुटानी बेलडाँगीबाट भन्छन्, घटना कहाँ र कसरी घट्यो त्यो जान्नै बाँकी छ । चार घण्टापछि  बुझेको हो- काँतर मनले बसले ठक्कर दिएको त्यो घटना, त्यो शारीरिक पिडा, त्यो छटपटीको दृश्य बारे सोच्न अझै सकेको छैन ।

यता थप केही  घण्टापछि साथीहरू यहाँलाई फेसबुकतिर श्रद्धाञ्जली चढाउन थाल्छन् । चिनजान र सम्बन्धका कुरा लेखेर परिवारमा समवेदना व्यक्त गर्न थाल्छन् । ती देखेर पनि म अनदेखा गर्छु डा. गोविन्द रिजालको मृत्यु, के करण हुनसक्छ ? म अझै वास्तविकता खुट्याउन तिर लाग्छु ।

केही दिनअघि मात्र बेलडाँगी शिविरमा दियालो साहित्यिक पत्रिका विमोचनमा वक्ताका रूपमा उभिएको तस्बिर देखेको थिएँ, उन्नाइस सय बहत्तरमा जन्मनु भएको यहाँ बित्नु भयो होला ? मैले कसरी पत्याउनु ? के कारणले पत्याउनु ? मनले प्रश्नै प्रश्न बुनिरह्यो । ती श्रद्धाञ्जलीका स्ट्याटसमा मैले लेखिन एक शब्द कतै । चुपचाप यो घटना  सत्य नहोस् भन्ने कामना गरिरहेँ, गरिरहेँ ।

भुटानी लेखकहरूका कविता, कथा, उपन्यासहरू प्रकाशन हुनेसाथ पढेर समीक्षा गर्ने डा.गोविन्द रिजाल । सम्बन्धित ती पुस्तकका लेखकसँग बसेर कमी कमजोरी र सबल पक्ष छुट्याइदिने एक अभिभावकी व्यक्तित्व । एक समीक्षक, एक टिप्पणी गर्ने वक्ताका रूपमा परिचित डा.रिजाल यति चाँडै जानुभयो ऽऽ? मैले साँच्चै पत्याइनँ ! अचानकै आएको खबर पत्याउन सक्ने सम्भावना पनि थिएन ।

भोलिपल्ट नेपालतिरका मित्र मध्ये कसैले दागबत्ती दिएको फोटो जब  सामाजिक सञ्जालमा हालिएको थियो तब पनि पत्याइन र जुम गरी यहाँको अनुहार हेरेँ । पशुपति आर्यघाटमा लमतन्न सुताइएको शवमा जब यहाँको अनुहार देखेँ तब औधी दुःख लाग्यो । घटना भएकै रहेछ, अब कसरी नाइँ भन्ने श्रद्धाञ्जली  प्रकट गर्दै मन रोयो ।

डा.साहेब यहाँ  भुटानी समुदायको एक अभिभावक साह्रै मिलनसार व्यक्ति । लेखक, कृषि वैज्ञानिक, भुटान जर्नलका सम्पादक र त्रिभुवन युनिभर्सिटी कीर्तिपुरका एक प्रोफेसर पनि । यहाँ यी सबै परिचय छाडी अब एक्लै निस्कनु भयो त्यो दूरको यात्रामा । हामी माझ सम्झना मात्र रहन थाल्नु भएको पनि ४५ औँ पुण्यतिथि व्यतीत भइसकेको छ ।

सन् २०१८ मा ‘अ परदेशी इन प्याराडाइज’  प्रकाशित भएको खबर पाएको थिएँ । यहाँको आत्मकथा शैलीको त्यो पुस्तक पढी मलाई केही कोर्ने  उत्सुकता जागेको थियो । यसरी अङ्ग्रेजी पुस्तक माथि नेपाली समीक्षा लेखी एउटा नौलो प्रयोग सहित दोहोरो परिचय भएको थियो हामी बिच । त्यस अघिको हाम्रो सम्बन्ध गोलधाप र बेलडाँगी बिचको भौतिक दुरी जत्तिकै  थियो ।

एउटा सन्दर्भ ताजै छ  भुट्नीज लिट्रेचर डट कममा प्रकाशित शिवलाल दाहालको एउटा लेख पढेर यहाँले सोध्नु भयो – लेखकहरूको नामै लिएर वाइ.एन. चौलागाईँ गौर भुटानी ? डा.गोविन्दराज भट्टराई पनि गौर भुटानी ? किन ? त्यो सही होइन र ? भर्खरै सम्पादकको रूपमा चुनिएकाले अलमलमा परेँ – दुवै प्रश्नको जवाफ मसँग थिएन ।  शिवलालको आलेखमा मैले के भन्ने ? औपचारिक जबाफदेही व्यक्ती म थिइन पनि । सन्दर्भ बिचमै रोकिन पुग्यो ।

त्यसपछिका दिन जुम मार्फत हुने भर्चुअल कार्यक्रममा डा. रिजाल यहाँसँग भेट हुने तर औपचारिकता निभाउँदै ठिक्क । विमोचित उक्त पुस्तक र उपस्थित वक्ताहरूको विचार सुन्दै समय बितिजान्थ्यो । अनौपचारिक कुरा गर्नै नपाउने ।

सन् २०२० मा यहाँको ‘बेजोड बन्ध’ कथासङ्ग्रह प्रकाशित भएको खबर पाएँ, भुटानी लेखकका पुस्तक तात्तातै खोजेर पढ्ने आफ्नो अभिरुचि अनुसार पुस्तक  ल्याएर पढ्न थालेँ । केही भुटान भित्रका कथा, केही साइन्स फिक्सनका र शरणार्थी शिविरका पनि । साइन्स फिक्सनका नौलो कुराको जानकारी पाउने ज्ञानवर्धक कथाहरू । लेखन मन पर्‍यो ।  पुस्तक राम्रो लाग्यो, भन्ने प्रतिक्रिया यहाँलाई सोझै जनाएको थिएँ ।

केही महिनापछि ‘बेजोड बन्ध’ पढेपछिका पाठकको कस्तो छ प्रतिक्रिया ? जान्ने मेरो  उत्सुकता थियो  । सुनसान छ । धेरैले पढेनन् क्यार ! अरू त त्यस्तै हो डा. तारालाल श्रेष्ठले यो रिसर्च लेखनकै रूपमा ल्याउनु पर्थ्यो भन्ने राय व्यक्त गर्नुभयो । डा. रिजाल यहाँलाई त्यस पल नै मैले भनेको थिएँ, लेखकीयमा यहाँले रिसर्जका लेखहरूको केही तथ्याङ्क हटाएर कथा आख्यानको आकारमा ल्याएको हुँ भन्ने कमजोरी पक्ष देखाउनु हुने थिएन । कमजोरी देखाउनु पनि एउटा कमजोरी हो ! हिजोजस्तो लाग्छ यहाँले गम्भीर पाराले मेरो फरक दृष्टिकोण सुन्नुभएको थियो ।

एक दिन  – इ नेप्लिज डट कम अनलाइन पोर्टलमा एउटा आलेख छापिएको भेटेँ जहाँ डा.गोविन्दराज भट्टराई च्याङथापु, पाँचथरमा जन्मनु भएको भन्ने लेखिएको थियो । मलाई चाहिएको सूचना यत्ति थियो, स्क्रिन सट गरी तुरुन्त यहाँलाई दुई वर्षपछि फेसबुक मेसेन्जरमा जवाफ दिएँ । उक्त तर्कमा श्रोत सही । अर्थात् भुट्निज लिट्रेचरमा लेखिएको माथि प्रस्तुत कुरा पनि सही । रिजाल सर यहाँलाई सप्रमाण त्यो कुरा देखाउन पाएकोमा दङ थिएँ । त्यस दिन यहाँले त्यो श्रोत हेरी, सायद ठिक भनी उक्त कुरा टुङ्ग्याउन तिर लाग्नु भयो । यसरी हामी बिच कहिले विषयगत सम्झौता हुन्थ्यो । कहिले तर्कमै कुराहरू रोकिन्थे, लामो समय पछि मात्र त्यसको उत्खनन हुँदै जान्थ्यो ।

‘दर्शकका आँखामा बामाको कार्यक्रम’  शीर्षकको मेरो आलेखमा यहाँले टिप्पणी गर्नु भयो । बन्धनको चिनो १९८८ मा आएको हो र ? बि स्वोर ? योवर रेफरेन्स मस्ट मि करेक्ट ! भन्नु भएको याद ताजा छ ।

रिजाल सर भोलिपल्ट यहाँले नै लेख्नु भयो गायक प्रताप सुब्बा दाजुसँग मेरो कुरा भयो, बन्धनको चिनो १९८८ मा नै बजारमा आएको रहेछ ।

रिप्लाइमा मैले फर्काएँ – आइ बोन, अर्थात् मैले जितेँ !

यहाँ आलेखहरूमा आएका कुनै घटना, प्रसङ्ग र मिति निक्कै चाख मानेर पढ्ने र के कति सत्य छ सोध खोज लाग्नुहुन्थ्यो । बिचमा खाली समय पनि गुज्रन्थ्यो । हप्तौँसम्म बिना संवाद । बिना हालखबरको बुझाबुझको दुवै आ-आफ्नै कार्यव्यस्ततामा हराउँथ्यौँ ।

“के पढ्दै हुनुहुन्छ सर अचेल ? अब के लेख्दै हुनुहुन्छ ?” यी र यस्तै विषयमा गफिन थाले फेरि एक समय । अन्त्यमा म्याडमलाई नमस्कार सुनाइदिनु होला भन्दा यहाँले म्याडम बाहिर हुनुहुन्छ म खाना पो पकाउँदै छु, भन्नु हुन्थ्यो । कस्तो खाना पकाउनु हुन्थ्यो, चाख्ने अवसर कहिल्यै नपाए पनि त्यो वाक्य कानमा अझै गुन्जिरहेको छ ।

डा. साहेब यहाँ याङचेन्फु हाइ स्कुलमा (वाइ.एच.एस)  १२ कक्षा पढिसकेर पछि इन्डियाको बाटो हुँदै  एक्लै बेलडाँगीमा आमाबाबा  खोज्दै आउनु भएको थियो  । बाबाआमा र आफन्तहरूको बसाइ यहाँले अपेक्षा गरे जस्तो थिएन त्यसैले हजुर शरणार्थी शिविरमा धेरै समय बस्नु भएन । विद्वान मान्छे सायद शिविरका छाप्रामुनि कुनै अवसर भेट्नु भएन ।

डा. साहेब यहाँ  प्राध्यापन गराउन हिँड्नु भो जहाँ नेपाली नागरिक डा. शान्तासँग भेट हुन पुग्यो । पछि अध्ययनका लागि यहाँ रिफ्युजी ट्राभल्स डोकोमेन्ट बनाएर फिलिपिन्स र जापान सम्मको यात्रा गर्नु भयो । जापानबाट सी -४ राइसको अनुसन्धान विषयमा विद्यावारिधि गरी  फर्कनु भएको यहाँ  पी.एच.डी होल्डर मात्र होइन, यहाँ त  फलेको रूख हो । त्यस्तो रूख, जुन फलेर पनि नुहेको थियो । त्यो रुख नुहेर पनि भुटानी लेखकहरूलाई उस्तै शीतलता र छहारी दिन्थ्यो, जुन यहाँ अब शब्द चित्रमा मात्र उनिने भएको छ ।

एक दिन यहाँलाई मैले ‘लेखककी छोरी’को पाण्डुलिपि देखाएँ, चौबीस घण्टामा यहाँले प्रतिउत्तर जनाउनु भयो । एक पोस्ट डकले यति छोटो समयमा पढेर लेखकसँग प्रतिक्रिया सहित उत्रनु आफैँमा सम्मानजनक कुरा छ । सिर्जनाको हकमा कति यस्ता लेखक पनि छन् जो आफू आफ्नै सिर्जनाका लागि समय  दिन पनि सक्दैनन् । यस्तो बाध्यात्मक परिप्रेक्ष्यमा यहाँको यस्तो जोसपूर्ण जवाफले म निक्कै आकर्षित भएको थिएँ ।

यहाँले हातमा लिएका हरेक पुस्तक पढी नसकी नउठ्ने बानी डा.शान्ता कार्कीले पनि फेसबुकमा कतै जनाउनु भएको छ । मदनमणि दीक्षितको ‘माधवी’ पहिलो पुस्तक थियो जुन यहाँले एक सिटिङमा पढी सक्नु भएन र थकान सहित पुस्तक अनुहारमा राखेरै सुत्नुभयो ।

गोविन्द सर यादहरू धेरै छन् ।  साहित्य र संवादका विषयमा सम्झनाहरू कम छैनन् हामी बिचका । कुन यहाँ उल्लेख गर्ने कुन छुटाउने भइरहेको छ ।

सन् २०१९ को सेप्टेम्बर महिनामा एकपल्ट यहाँले सर्प्राइज दिन फोन गरी भन्नु भयो, “जे.एन भाइ तपाईँको सहरमा आएको छु । मसँग चौबीस घण्टाको समय छ । दिनरात जोडिएको चौबीस घण्टा यो समय अवधि भनेको ठुलो कुरा हो ।”

आफू सहर बाहिर छु । डा. रिजाल म बसेको सहरमा आउनु भएको छ र समय सीमा चौबीस घण्टाको तोकिदिनु भएको छ ।  त्यो भेट हुन सम्भव छैन भन्ने मनमा लागिरहेको छ । तर मैले शब्दमा निराशा देखाउन चाहिन जवाफमा भनेँ, “म सक्दो कोसिस गर्छु सर ! भेट्ने औधी रहर छ ।”

म पारिवारिक भ्रमणमा निस्किएकाले समय मिलाउन सकिन । यहाँ फर्कनु भयो । लागेको थियो, यसपालि भेट नभएर के भो ? कुनै दिन म आफैँ काठमडौं ओर्लिएको समय यहाँसँग भेट होला । यहाँको समीपमा बसेर कति गफ गरौँला, कति चिया रित्याउँला भन्ने मेरो चाहना डा. साहेब सपनामै सीमित भयो अब ।

“बदलिएको कर्तव्य: एक उत्कृष्ट कृतिको सतही वर्गीकरण” शीर्षकमा समीक्षा गर्नु भएको थियो  यहाँले । मैले प्रकाशित हुनसाथ पढेँ । यहाँले काठमाडौंबाट सोध्नुभयो, लामीटारे सरको पुस्तक माथिको समीक्षा गलत छ ?

“गलत छैन । सही छ समीक्षा, सर !”- मेरो जवाफ ।

त्यसो भए किन  गङ्गाराम लामीटारे सरले प्रतिक्रिया व्यक्त गर्नुभएन भन्ने यहाँको तर्कमा निराशाको सुस्केरा थियो ।

गोविन्द सर यहाँसँग प्रत्यक्ष भेट कहिले भएन । अब त हुन सक्ने सम्भावना पनि छैन । तारमा कुरा हुने र तारमा टुङ्गिने हुन्थ्यो हाम्रो संवाद, भलाकुसारी र टिप्पणी आदानप्रदान जुन अब सम्झनामा मात्र रहने भएको छ । रिजाल सर, यहाँ धर्तीमा आउँदा सायद हजुरकी आमा धेरै खुसी हुनु भयो, त्यसपछि परिवारका अन्य सदस्य । तर यहाँ जाँदाऽऽ… भुटानी समाज नै औधी दुःखी बनेको, सबैतिर निराशा छाएको छ ।

पछि एक सामान्य दिन, सामान्य कुरामा यहाँले भुटान वाच -अनलाइन प्रकाशित जर्नलमा जोडिने सल्लाह दिनु भयो । प्रत्यक्ष राजनीति र राजनैतिक लेखनमा मेरो सक्रियता हुँदैन । सो कदम देखि म कोसौँ टाढा छु ।  त्यस पल गोविन्द सर, यहाँलाई मैले हुन्न भन्न सकिन र म जोडिन्छु भन्ने मौखिक प्रतिबद्धता जनाई म फुत्किएको थिएँ  !

डा. रिजाल ! यहाँले मार्च महिनामा  मात्र भुटानसँग सम्बन्धित रिसर्च बेस आलेखहरू लेख्न मेरो समय तालिका कस्तो छ भन्ने कुरा बुझ्न खोज्नु भएको थियो । फेरि पनि नाइँ भन्न नसकेर घुमाउरो बाटोमा मलाई लेख्न आउँदैन तर प्राविधिक ज्ञान पाए कोसिस गर्छु भनेको थिएँ । त्यसपछिको समय हाम्रो तारको संवाद नै भएन छ । सायद आ-आफ्नै व्यस्तता !

समयको पोल्टामा मृत्यु अदृश्य हुन्छ । अर्थात् मृत्यु गुमनाम हुन्छ । कुन विन्दुमा र कहिले झुल्कन्छ त्यसले कुनै सूचना दिँदैन । तर सकुशल मान्छे माथि अचानकै भएको यस्तो घटनाले मन पोल्दो रहेछ । साँच्चै गोविन्द सर, मैले यतिन्जेल कसैको अभिचिउरी लेखेको छैन; त्यो लेख्ने हिम्मत पनि रहेनछ । डा. साहेब यहाँलाई थाहै म सबै कुरा सुन्छु । ती तथ्य बुझ्न तिर पनि लाग्छु तर कत्ति कुरामा विश्वासै गर्दिन । यदि आत्मा भन्ने चिज वास्तवमा छ भने यहाँको आत्माप्रति श्रद्धा सुमन चढाउँदछु ।

Source: Sahitya Post

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.