Skip to content

शिवलाल दाहालको “जो स्मृतिमा मात्र बाँचिदिएका छन्”

म कहिले पुस्तकको शीर्षक हेरेर, कहिले पुस्तक भित्रका अक्षरको फन्ट  हेरेर, कहिलेकाहीँ सिर्जनाको नाम हेरेर त कहिले आवरण आकर्षण हेरेर, समय, मूल्य, लेखकको नाम हेरेर पढ्ने पुस्तक छान्ने गर्छु । पुस्तक छान्ने विधिले इच्छा आकाङ्क्षामा असर पार्छ ।

सन् २०२२ मा साहित्य प्रवर्द्धक तथा सर्जक रमेश गौतमले मलाई एक थान पुस्तकहरू थमाउनुभयो । ती पुस्तकहरू मध्ये कवि शिवलाल दाहालकृत स्वच्छन्द कविता सङ्ग्रह “जो स्मृतिमा मात्र बाँची दिएका छन्” एक थियो । मैले पुस्तक छनौटको मानक प्रयोग गर्नु परेन । स्रष्टा शिवलाल दाहाल मैले खोजी-खोजी पढ्ने सर्जक मध्येमा पर्छन् । यो पुस्तक पढेर यसको समीक्षाको खेस्रा पहिले नै तयार भए पनि प्रचार गर्न चाहिनँ । मलाई लाग्यो यो कृतिको वेगको बगाइले उपयुक्त पाठकमाझ आफै पुग्न सक्षम छ । प्रकाशनको लगभग एक वर्षपछि यो पुस्तक पुग्नुपर्ने पाठक समक्ष नपुगेको कतै भए यस्ता टापुहरूलाई मध्यनजर गरी यो समीक्षाको जोगामेसो मिलाएको हुँ ।

यो सङ्ग्रहभरि मैले मानक कविता खोजेँ, कविताका नमुना खोजेँ, समाजका प्रतिनिधि कृतिको खोजेँ, नवीनतम प्रयोग र नयाँ ज्ञान खोजेँ, जुन म कवि शिवलालका कृतिहरूबाट सदा अपेक्षा गर्दछु । त्योभन्दा धेरै शिवलाल दाहाललाई चिनाउने कविताहरू खोजेँ ।

साहित्य परिषद् भूटानको प्रकाशन यो सङ्ग्रहमा ४७ कविताहरू छन् । कुनै छोटा छन्, कुनै मध्यम लम्बाइका छन् । लामा वा चार पृष्ठभन्दा धेरै तन्किएका कविता छैनन् । सङ्ग्रहको प्रथम कविता पेरियोडिक टेबल (पृष्ठ १-४) पढ्दा लाग्छ कवि बुढा भएछन्, विगत सम्झने, नयाँ सिक्न आँट नगर्ने, कोरिया, सिरियालाई पेरियोडिक टेबलको असर ठान्ने। मानव चीत्कार, हुङ्कार, गर्जनको स्रोतसँग पेरियोडिक टेबलको तुलना गरेर- एक अजंगको पर्यस्तापह्नुति अलङ्कार प्रस्तुत गरेका छन् । कविलाई लाग्या छ पेरियोडिक टेबल छ र नै संसार छ, विश्वास छ, ब्राह्मण छ (पृष्ठ ३)।

यस सङ्ग्रहमा गणित, कम्प्युटर (पृष्ठ ५५), एनेस्थेसिया ( पृष्ठ १०), समुद्री आँधी, सौर्य आँधी ( पृष्ठ १६) गणितका सूत्रहरू (पृष्ठ २५) जस्ता विज्ञानसम्मत शब्दहरू असरल्लै छरिएका छन् । कविता ‘एक दिनको दैनिकी’ मा अमेरिकी दिनचर्यालाई धुलोको कुहिरोले ढाकेको उपमा दिई अपह्नुति अर्थालङ्कार प्रयोग गरिएको छ (पृष्ठ २१-२२) । अमेरिकी जीवनशैलीका रमाइला पनहरू, विकासका धरोहरहरू, सभ्यताका शिखरहरू, सपनाका गन्तव्यहरू पूर्ण रूपले अनदेखा गरिएको छ । यो आंशिक मात्र सत्य हुनसक्छ ।  सुख-सयल, सुखमय भविष्यतर्फको  परिवर्तनको कल्पना पाइँदैन- जुन पाठकको चाहना हुन्छ । त्यस्तै निराशै निराशा बटुलेका छन् महाभारत (पृष्ठ २६-२८) कवितामा ।

सुरुका कविताहरू निराशा प्रदायक छन्,  त्रास, भय, अलिप्त, र शङ्कामा जोतिएका छन् । निराशाको मात्रा क्रमशः घट्दै जान्छन् पानाहरू पल्टाउँदै जाँदा ।

‘पहाड बोकेर हिँड्ने रहर’ (पृष्ठ ९४-९५), ‘पानीको दहमा देखिएको अनुहार’ (पृष्ठ ४२-४३) आसा प्रदायक, सुकिला र स्निग्ध छन् । ‘म एक झञ्झाको पर्खाइमा

छु…’, ‘ऊ आयो’ जस्ता कविताहरूमा केही आगमनको सङ्केतको आसा गरिएको छ।   कुनै तानासाही मुलुकको त्रासद बन्धन भित्रबाट लेखिएका जस्ता छन् प्राय सबै कविताहरू । कविताका मूल उपमा र उपमेयहरू सर्वनाममा सीमित छन्,  विकेन्द्रित छन् ।

केही लघु कविताहरू जस्तै, ‘भविताको अनुहार,’ ‘भुईँमा झर्ने पारिजात,’ ‘म पहाडी नदी,’ शास्त्रीय संरचनामा नबाँधिएको ताङ्का झैँ लघुक्ति पूर्ण लाग्छन् । ती कविताहरू छोटा छन् ।

मलाई लाग्छ कवि शिवलालका कविताहरू मनोरञ्जन र ज्ञानका साथसाथै विगत गम्न, जिन्दगी बुझ्न र संसार नियाल्न पढिनु पर्छ । यो पुस्तक थोरै पाठकले मात्र मन पराउने छन् तर जसले मन पराउने छन् अनमोल मन पराउने छन् । यो सङ्ग्रहमा मलाई मन परेका धेरै कविताहरू मध्ये ‘ऊ आयो’ पनि हो

‘… ऊ आयो यसरी
खास कसैलाई थाहा भएन
खडेरीपछिको एक झर पानी जस्तो
हुन सक्छ असङ्ख्य उद्वीजहरू उम्रिन बाँकी छ
यो धर्तीको काखमा
र त ऊ आयो सुस्तरी
घोडाको टाप नबजाई कनै …’ (पृष्ठ ६८-६९)

उनका आगामी पुस्तकहरूका नाम छोटा रहून् भन्ने सानो अपेक्षात्मक सुझाव छ । उनले अझ लेख्नु पर्छ । विषयमा अझ फैलिएर, लक्ष्यमा अझ गहिरिएर लेख्नु पर्छ । मलाई विश्वास लाग्छ उनी जन्मेको लेख्नलाई हो; उनले कविता ‘अक्षरहरू’मा जे लेखेका भए पनि ।

“तर यस मनेमा म हारेको छु।
अक्षरहरू त जिन्दगीमा लेखिनु पर्ने रहेछ
जो मैले लेख्नै सकिन
जो मैले गाउनै सकिन” (पृष्ठ ९)।।

कवि शिवलाल दाहालले जे लेखेका भए पनि म उनलाई चिनाउने उनका सिर्जनाहरू खोजिरहेछु,  खोजिरहनेछु ।

Latest Posts

Head Over Heels in Love – For Rice

Late Dr Rizal was featured in the Rice Today quarterly journal published by International Rice Research Institute based
Read More

Dr Rizal’s Vision for a Bhutan Research Centre

This was the preliminary draft that Dr Rizal prepared for a research centre focused on scholarly research on
Read More

Memorandum of Protest

Reservation on the Establishment of Mega City Project at Gaylephug, Bhutan The landowners and citizens of Gaylephu, write
Read More
No results found.