Skip to content

डा. शिवराज भट्टराईको “राँको बालेर यात्रामा” प्रति प्रशंसा

“हाम्रो घर ठूलो टारीखेतको बीचमा छ । रातो माटो र कमेराले पोतेको, टाढैदेखि मानिसको ध्यानाकर्षण गर्दछ । घर वरिपरि भुइँबाट अलि माथि उठाइएको पेटी, घर पर्तीर छेउमा ढिँकी, अलि पर खोल्मासँगै गाईगोठ र बाख्राको खोर पनि” (पृष्ठ ४)

 – दोरोखाको म्यानटार गाउँको त्यही घरलाई केन्द्रमा राखेर सृजना गरिएको छ डा. शिवराज भट्टराईको संस्मरण तथा भट्टराई परिवारले राँको बालेर गरेको तीन देशको यात्रा । त्यही घरमा जन्मेका थिए शिवलाल जसको पढाइ एक मन्दिरबाट सुरु भयो जहाँ उनको नाम शिवप्रसाद राखियो र पछि स्कुल भर्ना हुँदा शिवराज ।

गाउँको स्कुलको पढाइ न सकिँदै तुर्सा नदी पारीको गाउँमा रहेको दोरोखा प्राइमरी स्कुलमा कक्षा तीनबाट निरन्तर हुन्छ उनको पढाई । पहिला देशव्यापी जाँचको निम्ति र पछि कक्षा छदेखि दससम्म अध्ययन गर्न साम्चि सेन्ट्रल स्कुल र उच्च शिक्षाको निम्ति काङलुङको सेरब्चे कलेज पुग्छन् । पछि त्यही कलेजको डीन सम्म बनेका थिए। सेरब्चे कलेजबाट बि. एस्सी, हरियाणाको रोहतकस्थित महर्षि दयानन्द विश्वविद्यालयबाट एम्. एस्सी र शिलाङको नर्थ ईस्टर्न हिल युनिभर्सिटीबाट विद्यावारिधि गरेका डा. शिवराजले आफ्नो सारा जीवन अध्यापनमै बिताए र सन २०२३ को अन्त्यबाट सक्रिय जागिरबाट संन्यास लिने लेखेका छन् ।

यो पुस्तकमा शिवराजदेखि डा. शिवराजसम्मको सङ्घर्षको सामाजिक पाटो उतारिएको छ। उनले कक्षा पाँचको परीक्षा सक्दा नसक्दा उनका परिवारका सबै सदस्य बसाइ सरेर नेपाल जान्छन् उनलाई एक्लो छोडेर । उनका दुई घर हुन्छन्- दुई देशमा । उनले रोजेको व्यक्तिसँग विवाह गर्न परिवारको मन्जुरी हुन्न – प्रेम सम्बन्ध भागी विवाहमा पुगेर सफल हुन्छ । विवाह भए पनि धेरै वर्षसम्म बसाइ अलग-अलग हुन्छ पढाइ र कामको तानातानले । दुई देशको बसाई, तीन देशका विभिन्न ठाउँको यात्राको विवरणले भरिपूर्ण यो पुस्तकमा उदासीन, रोमान्टिक र भावनात्मक जोस र सङ्घर्षका जोगाइहरू पाइन्छन् । लेखकले आफ्नो सङ्घर्षपूर्ण संस्मरणद्वारा तत्कालीन ग्रामीण जीवनको सजीव चित्रण गरेका छन् ।

कक्षा आठसम्म नेपाली पढेको, कलेजमा हुँदा नेपाली साहित्य संस्थाको अध्यक्ष भएको, वार्षिक पत्रिका छपाएको र धेरै लेखकहरू जन्माइसकेको शिक्षित पारिवारिक विरासतको हकदारी बोकेकोको उच्च मानकको मर्यादा पालना गर्दै एक पठनयोग्य तथा पठनको निम्ति सिफारिसयोग्य पुस्तक पस्केका छन् । सङ्घर्षै सङ्घर्षको दस्ताबेज भए पनि, अभिभावकबाट टाढा रहेको, परिवारबाट छुटिएको एकल यात्रीको कथा प्रेरणादायी छ ।

यस कथाले पारिवारिक नाताको सञ्जाललाई राजनैतिक सीमाको सङ्कुचनभन्दा पृथक् राख्न सफल भएको छ जुन विषय यो पुस्तकको अति उल्लेखनीय पाटो छ, जसले सबै पाठकलाई रोमान्टिक बनाउँछ र नयाँ दृष्टिगोचर प्रदान गर्दछ।

उनी लेख्छन्

“मेरो शिक्षण कालमा धेरै विद्यार्थी आए, गए। सेरब्चे कलेजमा गरेको अध्यापनमा पहिलो दस वर्ष जति, एघार बाह्र कक्षामा विज्ञानका विद्यार्थी पढाउने क्रममा, त्यो अवधिमा पढाइएका अधिकांश विद्यार्थीले मलाई चिन्छन् र सम्मान पनि गर्छन् । ती मेरा विद्यार्थीहरू देश-विदेशमा विशेष विज्ञान र प्रविधिको क्षेत्रमा डाक्टर, इन्जिनियर, कृषि र वन इत्यादि विभागमा उच्च स्थानमा कार्यरत छन्” (पृष्ठ ७३) ।

संयोग रह्यो शिवराज सरले पहिलो पटक बाह्र कक्षामा विज्ञान पढाउँदा म उहाँको विद्यार्थी थिएँ भनेर यहाँ लेख्दा गौरव महसुस गर्दै छु ।

यस पुस्तकमा ताप्लेजुङ, पाँचथर, दोरोखा बिच राँको बालेर गरेको यात्राको उल्लेख मात्र पाइन्छ । धेरै वर्णन भने देन्चुका, साम्ची, गौरादह, काङ्लुङ, थिम्पु बिच गरिएका यात्राको पाइन्छ ।

एक जीव-वैज्ञानिक, शिक्षक तथा प्रशासकले आफ्नो संस्मरण लेखेको भए पनि यो पुस्तक पूर्ण सामाजिक परिधिभित्र सीमित सामाजिक-जातीय-सांस्कृतिक अध्ययनको अनुपम नमुना बनेको छ।

मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको, आवरणमा राँको बलिरहेको यस पुस्तकमा १३४ पृष्ठ छन् र मूल्य रु २५० राखिएको छ ।

यो पुस्तकको निम्ति लेखक, तथा मेरा जीव-विज्ञान गुरु डा. शिवराज भट्टराई प्रति धन्यवाद तथा आगामी कृतिहरूको निम्ति शुभकामना । 

Source: Bhutanese Literature

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.