Skip to content

बेलडाँगी

लामो थियो परिचय,
बिर्सनलाई गाह्रो पर्ने
परिवर्तन धेरै आएछन्,
सम्बन्धमै चारो छर्ने
घुमी जगत सम्झी फिरेँ
समर्पित उसकै लागि
भोकै दुब्लै हाहाकारमा
बाँचेको छ अझै मागी
अन्तिम शैय्यामा छटपटाइ रहेछ
मेरो इतिहास, प्रिय बेलडाँगी ।

कोलाहल घटेछ, वितृष्णा बढे जति
रिस क्रोध पश्चतापमा फलाकिने
शब्दहरू अङ्कुराउने मति
हार नैराश्यमा प्रस्फुटन हुने
साहित्य मौलाएको गति
भण्डारण हुँदैछन्
शब्दकोशमा नअटाउने जति
तिनै अप्रिय शब्दहरू ओकल्दै
अन्तिम शैय्यामा छटपटाइ रहेछ
मेरो इतिहास,प्रिय बेलडाँगी ।

त्यै शैय्यामा लम्पसार छ
एक सभ्यताको इतिहास
जातीको एक पहिचान
चट्पटाइ रहेछ,
छट्पटाइ रहेछ ।
बेतुकका छन् सलामीहरू
हतारमा छन् मलामीहरु
उता,
चिता झोस्ने हतारमा छ क्यामोफ्लेज र खागि
यता,
अन्तिम शैय्यामा छट्पटाइ रहेछ
मेरो इतिहास,प्रिय बेलडाँगी ।

यो जन्मदै सुर्जेको रगतले सिँचिएको
भिन्न दीक्षित हुन्थ्यो कसरी
कति मारेको कति मरेको
पसिना र रगत दहभरि
फुलेन कमल, उडेन कलरब
मृगहरु ओरालो झरे
देशप्रेमी एकलब्यहरु
मूर्ख ठहरे, एक्लो परे ।
हाँसो छैन, चैन छैन
अन्यायका आँसु आँसु
कति सुके कति झरे
वेदना छोपी संघर्षमा
बहिस्कृत एक्लो परे ।
जन्तिहरु मानोको पछाडि
मलामिहरु छानोको पछाडि
दिनेहरु ठग
लिनेहरु लोभी भएछन्
आशालाग्दा कर्णधार
अर्कै मुलुक चलान भएछन्
इतिहास रच्नेहरु
लक्ष्य छोडी पलायन भएछन्
वृद्ध-वृद्धा लम्पसार छन्
बाँझो क्षितिजमा आशा टाँगी
अन्तिम शैय्यामा छट्पटाइ रहेछ
मेरो इतिहास, प्रिय बेलडाँगी ।

कुण्डलिनी नजागेको योगी भएछ बेलडाँगी
एकान्तमा छोडिएको कुष्ठरोगी भएछ बेलडाँगी
आउने छैन, जाने मात्रै
हात पसारेको पसारेकै
सिर्फ बाच्नको लागि
न जोत्छ,
न रोप्छ,
न मलजल, न गोडमेल
न काट्छ बाली, न चाख्छ नुवागी
दीन दयामै एक युग बाँचेर
भोगी भएछ बेलडाँगी
अन्तिम शैय्यामा छट्पटाइ रहेछ
मेरो इतिहास, प्रिय बेलडाँगी ।

Source: Bhutanese Literature

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.