Skip to content

प्रतिनिधि सृजनाहरू

पृष्ठभूमि
भुटानी समुदायको प्रतिनिधि कविता, प्रतिनिधि गजल, प्रतिनिधि पत्र, प्रतिनिधि हाइकु, प्रतिनिधि तानाका, प्रतिनिधि सायरी, प्रतिनिधि बाछिटा कुन हुन भन्दा, केही उत्कृष्ट नामहरू दिनु पर्दा, वा वाचन गरेर सुनाउनु पर्दा अनुत्तरित हुनु पर्ने स्थिति छ ।

भुटानी साहित्यका प्रतिनिधि होस वा उदाहरणीय कृति खोज्न डायस्पोरा हेर्नु पर्ने अवस्था आउँदै छ । अङ्ग्रेजी र नेपाली भाषामा लिखित कृतिहरू देश भित्रबाट भन्दा डायस्पोराबाट मात्रात्मक रूपमा धेरै प्रकाशित छन् । जोङ्खा भाषा र इतिहास विषयमा भने देशभित्रका प्रकाशन वा सरकारले प्रायोजन तथा समर्थन गरेको कृतिहरूको वर्चस्व छ । वाचन कृतिहरू जस्तै कविता, गजल, गीत, तानाका, पत्र, बाछिटा, सायरी, हाइकु र फुटकर रचना तथा लेखहरूमा डायस्पोरा अघि छ ।

डायस्पोरामा सयौँ वाचन कृतिहरूका सङ्ग्रह र हजारौँ फुटकर सृजनाहरूको प्रकाशन भएको पाइन्छ । भुटानी (डायस्पोरा)को प्रतिनिधि सृजनाहरूमा प्रताप सुब्बाको ‘बन्धनको चिनो…’ र महेश थुलुङको स्वरको ‘आकाशैमा चील…’ गीतहरू भुटानी (डायस्पोरा)को प्रतिनिधि वस्तु मात्रमा सीमित नभई बेजोड सृजनाहरू बनेका छन् । गीत गायन प्राकृतिक व्यायाम भए पनि व्यावसायिक रूपमा गीतको अर्वाचीन रेकर्डिङ गरेर विधिवत् प्रसार गर्ने विधिको श्री गणेश गायक प्रताप सुब्बाबाट भएको पाइन्छ । ती गीतहरूले सृजना, रचना र मानकको स्तरलाई नयाँ उचाइमा पुर्‍याएका छन् । धेरै समय भइसक्यो ती दुई गीतहरूको प्रियता तथा व्यक्तता बराबरहरू अरू वाचन कृतिहरू पुग्न सकेका छैनन् । स्तरमा कम भएर भने पक्कै होइन । सन २०२१ मा किरण गजमेरले नेपालको एक प्रचलित रियालिटी शोमा उत्कृष्ट स्थान जितेर योग्यता-वश नेपाली समुदायको प्रतिनिधि गायक बनेका छन् ।

विज्ञापनमा केही हदसम्म जोड हुँदा पनि, कृतिहरूको स्तर राम्रै भए पनि भुटानी स्रष्टाका कृतिहरूले परिचयको हदबन्दी तोड्न सकेका छैनन् । यसमा सृजनाशीलतामा केही सामूहिक तथा रणनीतिक कुशलतामा अपुग पक्कै देखिन्छ । वाचन कृतिहरूको प्रस्तुतिमा हेलचक्र्याइँ भएका छन् जुन हेलचक्र्याइँहरू सृजना विस्तारका ठुला बाधा बनेका छन्। जुन बाधाहरू हटाउन सर्जक, श्रोता, पाठक र समाजले अद्वितीय अन्तर्दृष्टि, सैद्धान्तिक कल्पना, सामूहिक मनोविज्ञान र सामाजिक चेतमा सुधारात्मक अग्रसरता ल्याउनु पर्ने जरुरी देखिन्छ ।

सिद्धान्त
सृजनाका आठ- एक अर्का सँग परिपूरक- चरणहरू छन् (चित्र न. १)
सोच: सुरु सोच वा सोचाइबाट हुन्छ । सोचको आधारमा विषयवस्तु छानेर, विषयवस्तुको पृष्ठभूमिलाई केन्द्रमा राखेर सृजनाको खाका तयार पारिनुपर्छ र त्यसमै तबसम्म चिन्तन मनन गर्नु पर्दछ जबसम्म सृजनाको पूर्ण रूपको दृष्टि तयार हुन्छ ।

अध्ययन:
विषयवस्तुको पूर्ण जानकारी लीन र महत्त्वपूर्ण पक्ष नछुटोस् निश्चित गर्न अध्ययन, भ्रमण, छलफल, अन्तरक्रियाद्वारा जानकारी, ज्ञान आर्जन गरिन्छ । विषयवस्तुलाई अनुभव र अभिज्ञानले छुट्टै स्तर थप्दछ । सोच, अनुभव र अध्ययनका आधारमा सृजना लेखिन्छ । लेख्न जान्ने सबैले लेख्नु पर्छ। लेख्न जान्नेले नलेखे, लेख्न जान्ने र लेख्न नजान्ने बिच केही फरक हुँदैन। त्यसरी नै पढ्न सक्ने सबैले पढ्नु पर्छ । नपढ्ने र पढ्न नजान्ने बिच केही फरक हुँदैन । त्यस्तो परिस्थितिमा साक्षर र शिक्षित वर्गले समुदायलाई अज्ञानबाट ज्ञानतर्फ दिशानिर्देश गर्न सक्दैन ।

लेखनमा भाषा शैली, रचनामा केन्द्र बिचार, संरचनामा नियम र गुदीमा मौलिकता हुनु आवश्यक हुन्छ । शैली, हिज्जे, व्याकरणमा ध्यान दिई अलङ्कार र रसको सक्दो प्रयोग गर्नु पर्दछ । स्रष्टा कुनै वादको अनुयायी भए, उक्त वादका सीमा र स्वतन्त्रताको उपयोग गर्नु पर्दछ ।

पुनः लेखन:
लेखनको अभ्यासमा र पुनः लेखनमा कन्जुस्याइँ गरिनु हुँदैन ।पटक पटकको लेखन र पुनः लेखन पछि वाचनको लागि तयार भयो भएन निर केवल गरिन्छ। अब यो भन्दा बढी सुधार हुने सम्भावना नभए सार्वजनिक वाचनको निम्ति उपयुक्त हुन्छ ।

वाचन:
स्रष्टा आफैले आफ्ना सृजना वाचन गर्न नसक्ने, नजान्ने, नगर्ने र पढ्ने अदक्ष परम्परा कायमै छ । वाचन गर्दा पढ्ने बानी बसाउनु हुँदैन । जति सकिन्छ कण्ठस्थ पारेर वाचन गर्नु पर्दछ । सृजना लामो भए, पुरै पाठ कण्ठस्थ पार्न नसके, जति कण्ठस्थ हुन्छ त्यति मात्र वाचन गर्नु पर्दछ । वाचन गर्दा हात, आँखा र हृदयलाई स्वतन्त्र छोडेर निर्धक्क निस् फिक्री वाचन गर्नु पर्दछ ।वाचनले सर्जक र श्रोतालाई जोड्नु पर्छ। वाचक र श्रोता बिच नोट, कपि, आई-प्याड, मोबाइल फोन, टेलीप्रम्पलाई ल्याउनु हुँदैन । सार्वजनिक वाचन पछि हर सम्भव लेख, सृजनामा परिवर्तन गर्नु हुँदैन । प्रकाशन वा सार्वजनिक वाचन पछि सृजनामा परिवर्तन गरिनुलाई स्रष्टाको गैर-जिम्मेवारीपन मानिन्छ ।

प्रसार:
सृजना वा कृतिहरूलाई व्यापक र दीर्घायु बनाउन श्रोता पाठकको विशेष भूमिका हुन्छ । श्रोताले आफूलाई मन परेको कृति, रचनाको प्रचार प्रसार गरी दिनु पर्दछ जसले कृति र सर्जक प्रति न्याय हुन्छ । सम्मान पुग्छ ।

पृष्ठपोषण:
स्रष्टाको तर्फबाट सत प्रतिशत उत्कृष्टता पस्के पनि श्रोता पाठकले खोट, कमी कमजोरी देखाउने सल्लाह सुझाव दिने क्षमता तथा अधिकार राख्छन्। श्रोता पाठकले अर्पेका आलोचना, समालोचन, प्रतिक्रिया, र पृष्ठपोषण ग्रहण गर्न, सहन र स्वीकार गर्न सक्नु पर्दछ । यस्ता पृष्ठपोषणलाई स्रष्टाले सिकाइको मौका सोच्नु पर्दछ र सदा सकारात्मकताका साथ स्विकार्नु पर्दछ ।

अनुसरण:
आफ्ना समकक्षी, सह-यात्री, सह-सर्जकका सृजनाहरू सौजन्यसहित स-गौरव वाचन नगरिनु र गर्न नसक्नू साहित्य विकासको अर्को बाधक हो । अरू स्रष्टाका सृजनाहरू सौजन्य सहित वाचन गरी दिनु पर्दछ । सृजना मन पराउनेले अनुकरण तथा अनुसरण गरी दिनु पर्दछ ।
प्रचार-प्रसार, पृष्ठपोषण र अनुसरणमा स्रष्टाको भन्दा श्रोता-पाठकको भूमिका महत्त्वपूर्ण हुन्छ। यसरी एक सृजनाको जीवन चक्र पुरा हुन्छ । उक्त सृजना पाठक र समाजको आर्जन बन्छ । यो अनुभव प्रयोग गरेर सर्जक अर्को सृजनामा लाग्नु पर्दछ ।

सारांश
जब सृजनाहरू निर-ढक्क (नपढी) वाचन गरिन्छ, स्रष्टा र श्रोता बिच भावनात्मक सम्बन्ध स्थापित हुन्छ, सृजनाले नयाँ उचाइ पाउँछ र स्रष्टाको परिचय स्थापित हुन्छ, तब जन्मन्छन् लोक-स्रष्टा वा जन-सर्जकहरू। एक सृजना जीवन्त राख्न श्रोता, पाठक र समुदायको उतिकै अभिभारा रहन्छ । त्यसैले सबैले मन पराउने कृतिलाई पहिला स्रष्टाले र दोस्रो श्रोता- पाठकले प्रोत्साहन गर्नु पर्दछ । कृतिहरूको रचना हुँदै जानु पर्छ, पुस्तकहरू छापिँदै जानु पर्छ, वाचन हुनु पर्छ, सृजनाले प्रभाव पार्नु पर्छ, प्रभावित श्रोता पाठकले प्रोत्साहन स्वरूप स-सम्मान अनुसरण गरी दिनु पर्छ अनि सृजनाले न्याय पाउँछ, समाजले प्रतिनिधि सृजना पाउँछ अनि सभ्यता मुस्कुराउँछ ।

Source: Bhutanese Literature

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.