Skip to content

डा. गोविन्द रिजालः भुटानी समूदायको असल अभियन्ता

तारालाल श्रेष्ठ

काठमाडौं । डा. गोविन्द रिजाल । नाम नै भुटानी समूदायका लागि काफी छ । उनी भुटानी शरणार्थी हुन् भन्ने कुरा भने कमैलाई थाहा थियो । झापाको बेलडाँगीस्थित शिविरमा भुटानका राजाले लखेटेपछि नेपाल आएका १ लाख ३० हजार भुटानी शरणार्थीहरु जस्तै व्यक्ति गोविन्द ।

शिविरमा आइपुग्दा २१ वर्षका गोविन्दले भूटानी शरणार्थीको परिचयपत्र (नम्बर ५३४–०५२०२२००) बोकेर रामपुरमा कृषि विज्ञान अध्ययन पूरा गरि जापानबाट विद्यावारिधी अनुसन्धान सम्पन्न गरे । त्यसपछि फिलिपिन्स गई पोष्ट डक डिग्री हासिल गरेर कृषि वैज्ञानिक बने । सहपाठी डा. शान्ता कार्कीसँग उनको विवाह भयो ।

डा. गोविन्द कीर्तिपुरको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा प्राध्यापनरत उनी मे ५, २०२४ को दिन कक्षा लिन बनियाँटारबाट साइकलमा कीर्तिपुर आए । अनि १२० जना विद्यार्थीलाई सेमेस्टरको अन्तिम कक्षा सकाए । घर फर्कनेबेला २० वर्षपछि भौतिक रुपमा भेट भएको एकजना साथीसँग आइपुगे । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको क्यान्टिनमा चियानास्ता गर्न साथीसँग गएका थिए । लामो गफगाफपछि सम्झनाका लागि एउटा सेल्फी खिज्दै थिए आयुर्वेद केन्द्रको गेटमा ।

कीर्तिपुरबाट आएको अनियन्त्रित सार्वजनिक बस उनीमाथि पल्टियो । उनको घटनास्थलमै निधन भयो । उनको निधनपछि अहिले भुटानी समूदाय स्तब्ध छ । उनको पशुपति आर्यघाटमा मे ८ तारिखका दिन अन्त्यष्टि हुँदा झापाकै शिविरबाटै आएकाहरु डाको छाड्दै थिए । भुटानी शरणार्थी नेताहरुका साथै नेपालका उच्च व्यक्तिहरुको अन्त्यष्ठीमा उपस्थिीति थियो ।

डा. गोविन्द रिजाल निधन भएको कुरा सामाजिक सञ्जालमा देखियो । ‘कीर्तिपुरमा वस दुर्घटना हुँदा एक जनाको मृत्यु’ शीर्षकमा समाचारहरु प्रकाशित भए । केहीबेरपछि प्रहरीले पुष्टि गर्‍योः मृतक डा. गोविन्द रिजाल त्रिवि कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका प्राध्यापक । त्यतिन्जेलसम्म उनको परिचय यतिमै सिमित थियो ।

ह्यारिसबर्गमा रहेका भुटानी समूदायले शोक विज्ञप्ति निकालेपछि समाज टाइम्सले पनि यस विषयमा चासो दियो । अनि उनको बारेमा सोधी खोजी गर्दा सुरुमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्याम ओझासँग सम्पर्क भयो । उनले डा. गोविन्द रिजालसँग निकट रहेर काम गरिरहेका त्रिविकै उप प्राध्यापक डा. तारालाल श्रेष्ठको नम्बर उपलव्ध गराए । उनले उपलव्ध गराएको नम्बरमा कुरा गरेपछि डा. श्रेष्ठसँग कुरा गर्न समाजटाइम्स प्रतिनिधि कीर्तिपुरस्थित अंग्रेजी केन्द्रीय विभागमै पुगे । त्यहाँ पुग्दा डा. श्रेष्ठ एक जना थिसिस विद्यार्थीसँग कुरा गर्दै थिए । हामी पुग्नासाथ विद्यार्थीलाई विदा गरेर हामीसँग कुरा गर्न तयार भए ।

हामीले सोध्यौं, तपाईं कसरी डा. गोविन्द रिजाललाई चिन्नुहुन्छ ?

म भुटानी शरणार्थीहरुसँग नजिक रहेर काम गरिरहेको थिएँ । मेरो विद्यावारिधीको विषय ‘सबाल्टर्न अध्ययन’ थियो । सवाल्टर्न अध्ययन शक्तिले थिचिएको, शक्तिविहीन, देशविहीन, अस्तिवविहीन व्यक्ति वा समूदाय केन्द्रित रहन्छ । मैले विद्यावारिधी सन् २००३/४ मा थाल्दाखेरि यो समूदाय नेपालमा को होलान् भन्दा भुटानी शरणार्थीले मलाई तानिहाल्यो । ओहो, वर्ग, लिङ्ग, क्षेत्र, जात, धर्म, संस्कृतिको आधारमा मान्छेलाई शक्तिविहीन बनायो, तर, नेपाली भाषी भुटानीलाई त राज्यविहीन, नागरिकता विहीन नै बनायो । यो भन्दा ठूलो पीडा शक्तिकै कारण थिचिएको समूदाय त को होला भन्ने लागेर मैले भुटानी शरणार्थीको विषयमा अध्ययन गर्ने निधो गरे। 

त्यो बेला झापाको भुटानी शरणार्थी शिविरहरुमा  १ लाख बढी मानिसहरु थिए । शिविर पनि सात वटा थियो । सबै क्याम्पहरु घुमेर हिँड्थे । क्याम्प घुम्नजाँदा त्यस समय डरमोर्दो अवस्था थियो । त्यतिबेला भुटानी शरणार्थीहरुलाई तेस्रो देशमा लाने की नलाने भन्ने कुरामा भयंङ्कर बहस (लडाईं) जस्तै थियो । त्यतिबेला तेस्रो देश जानु ठिक भन्ने मान्छेले कुटाई खान्थ्यो । बेला बेलामा झडप हुन्थ्यो । एक्टिभिस्ट (अभियन्ता)हरुको हत्या पनि भएको थियो । त्यहाँ गएर म खुलेयाम रिसर्च गर्न आएको भन्ने अवस्था थिएन । त्यसैले म जासुस जसरी त्यहाँ गएर अध्ययन गर्थे । एउटा सानो बाथरुम जस्तो स्पेसमा परिवार अटेका थिए । त्यहाँ विभिन्न घटनाहरु भइरहन्थ्यो । भारत भुटानको विषयमा बोल्न नचाहने, नेपालमा माओवादी युद्ध उत्कर्षमा पुगेको थियो । भूराजनीतिक परिस्थीतिले युरोप अमेरिकाहरु भुटानी शरणार्थीहरु सबै माओवादी त बन्ने होइन भन्ने डरमा थिए । मेरो सुपरभाइजर अभि सुवेदी हुनुहुन्थ्यो । उहाँलाई पनि भनेको थिइनँ । म सुटुक्क शिविरमा जान्थे । भुटानी शरणार्थीहरुसँग मेरो संगत बढ्यो ।

काठमाडौंमा पनि थुप्रै शरणार्थी साथीहरु रहेछन् । अधिकांश ठाउँमा उहाँहरुले आफ्नो पहिचान लुकाउनु हुन्थ्यो । अलिअलि लेख्न थालेको थिए । त्यसैमा उपन्यास ‘सपनाको समाधी’ लेखे । डा. गोविन्द रिजालले नै विदेशबाट फोनगर्नुभयो । मेरो किताव प्रकाशित हुनेवित्तिकै अनलाइन मगाएर पढेर सबै ‘रिभ्यू’ गर्नुभएछ ।

शिविरमा गोविन्द सरको सम्बन्ध  ?

शान्ता कार्की उहाँको सहपाठी हुनुुहुन्थ्यो । उहाँहरुले विवाह गर्नुभयो । नेपाली केटीसँग विवाह गर्नुभयो र लामोसमय विदेशमा बसेर अध्ययन गर्दा क्याम्पमा आएर शरणार्थी कार्ड नविकरण गरिरहने कुरा पनि भएन । शिविरमा उहाँको छाप्रो त छ तर उहाँको नविकरण छुटेकाले हो पनि होइन पनि भन्ने अवस्थामा थियो । नेपाली केटी विहे गरेको, उच्च शिक्षा हासिल गरेको उहाँ त ‘पोस्ट डाक्टर’ गरेको व्यक्ति हो । उहाँ ‘सी फोर धान प्रजातीको’ विज्ञ (वैज्ञानिक) हुनुभएको थियो । उहाँको जीवनसाथी शान्ता कार्की पनि पीएचडी होल्डर, पोष्ट डक हो । गोविन्द रिजालको परिवारका अन्य सदस्यहरु प्रक्रिया पूरा गरेर अमेरिका प्रस्थान गर्नुभयो ।

बाबुआमालाई भेट गर्न जानका लागि ट्राभल डकुमेन्टको तयारी गर्नुभएको थियो । चैत ५ मा शिविरमा दिएको निवेदनको प्रक्रिया जारी थियो क्यार । अमेरिकामा रहनु भएका मातापिता विरामी भएको र जेठा छोरा गोविन्दलाई भेट गर्ने इच्छा रहेकाले जाने तयारी गर्दै हुनुहुन्थ्यो । नेपालीसँग विहे भएकै कारण नेपाली नागरिकता पनि सहज पाउने अवस्था थिएन । नेपालमा कृषिको विषयमा उहाँजत्तिको विज्ञ मान्छे अर्कोसँग मैले सँगत नै गरेको छैन । पोस्ट डक्टरसकेपछि नेपाल आउनु भयो र मेरो सम्पर्क झन बढी बाक्लो भयो । उहाँसँग मिलेर हामीले बौद्धिक काम गरिरहन्थ्यौं ।

नागरिकता नहुँदा कसरी त्रिविमा ?

उहाँहरुलाई निश्चित अधिकार दिएको हुन्छ । उहाँ स्थायी हुन पाउनु भएन, ठोस जागिर पाउनु भएन । तर काम गर्न निश्चित अधिकार थियो । उहाँलाई देख्दा विश्वका अन्य देशको तुलनामा नेपालमा काम गर्न स्वतन्त्रता छ जस्तो लाग्छ । गोविन्द सरलाई अप्ठेरो पनि थियो । यात्रा अनुमति (ट्राभल डकुमेन्ट) का कारण विदेश जान पनि बेलाबेला रोकिनु पर्ने अवस्था थियो । त्यसले गर्दा मसँग उहाँले साथ खोज्नुहुन्थ्यो । म पनि परराष्ट्र मन्त्रालय पुगेको छु । एक जना साथी हुनुहुन्थ्यो पहिला त्रिविका सहकर्मी । पछि परराष्ट्रमा जानु भयो । अहिले राजदूत हुनुहुन्छ । उहाँको विषयमा साथीले सक्ने सहयोग पनि गर्नुभयो । शिविर पनि गइरहनु हुन्थ्यो । शिविरसँग वहाँ जोडिएकै थियो ।

साइकल लभर

शिविरमा रहदा साइकल अभिन्न अंगझैँ भइहाल्यो । डा. गोविन्द र डा. शान्ता फिलिपिन्स र जापानमा बस्दाखेरि पनि दुवै जना साइकल चढ्नुहुन्थ्यो । त्यहाँ साइकल चोरि भएको कुरा पनि गर्नुहुन्थ्यो । विश्वका धेरै देशमा साइकल कल्चर छ । विश्व विद्यालयका प्रोफेसर साइकल नै प्रयोग गर्छन् । उहाँहरु दुवै जना कृषि वैज्ञानिक भएकाले साइकलमा लगाव थियो । म पनि साइकल एक्टिभिस्ट भएको नाताले सम्बन्ध अझ गाढा भयो । उहाँले मलाई तपाईं साइकल एक्टिभिस्ट, यसलाई कृषिसँग जोड्नु पर्छ भन्नु हुन्थ्यो । सामान्य कृषि गर्ने मान्छेले त सबै कुरामा साइकलको प्रयोग गर्न सक्छन् भन्ने उहाँको अभियान नै थियो । उहाँले मलाई जहिल्यै साइकल चढ्ने देखेपछि साइकलमा आकर्षित हुनुभयो ।  डा. शान्ता वगावानीमा प्रमुख भएपछि उहाँको घर बाँनियाटार । गाडी लिन जान्थ्यो र त्यसमा आएर कीर्तिपुरमा मसँग दिनभरी बस्नुहुन्थ्यो । दिनभरी लेख्नुहुन्थ्यो भने मैले एडिट गर्थे ।

‘अ परदेशी इन प्याराडाइज’ पुस्तक मैले नै एडिट गरेको थिएँ । म धेरै पटक उहाँको घरमा गएको छु भने उहाँ र मेडम पनि मेरो घरमा आउनुहुन्थ्यो । मेरो पारिवारिक सम्बन्ध नै थियो । चार पाँच वर्ष काठमाडौंमा भौतारिनुभयो । झापा पनि पुगि रहनुहुन्थ्यो । एक दिन राति उहाँले मलाई बुटवलबाट फोन गर्नुभयो र भन्नुभयो ‘तपाईंले साइकल चलाएको कुराले मलाई निकै छोयो । म अर्को हप्ता काठमाडौं आउँदै छु । कीर्तिपुरमा नियमति कक्षा लिन आउनु पर्ने भएको छ । त्यसले गर्दा मलाई अब साइकल चढ्नु पर्छ ।’ तपाईंको जस्तै साइकल किन्नु पर्‍यो भनेर उहाँ काठमाडौं आउनु भयो ।

विदेशमा बसेर साइकल कल्चरमा हुर्किएकाले सबै कुरा थाहा थियो । मैले चढेको जस्तै साइकल किन्नुभयो । म अलि स्पोर्टी तरिकाले साइकल चढ्ने मान्छे तर उहाँले भने क्यारेजसहितको साइकल लिनुभयो । साइकल फिट गरेर फर्किँदा राती भइसकेको थियो । साइकल मज्जाले हाँकेर उच्च ट्राफिकमा पनि मज्जाले घर जानुभयो । म साइकलबाट जहाँतही पुग्ने गरेको छु । मैले साइकलबाट थोरङ्ला पास पार गरेको छु । याक अट्याकमा गएको देखेर उहाँले अर्को बर्ष त्यसमा आफू पनि जाने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँ दैनिक साइकलमा बानियाँटारबाट कीर्तिपुर आउन थाल्नुभयो । उहाँ कीर्तिपुर आएको छु चिया खाउँ भन्नुहुन्थ्यो । उहाँले भन्दा अधिकांश समय म घरमा खाना खाइरहेको हुन्थे । तैपनि म साइकल हाँक्दै उही आयुर्वेद केन्द्रको क्यान्टिनमा हामी भेटेर चिया खान्थ्यौं । उहाँ जीवनको अन्तिमसमयसम्म साइकल चढ्नु भयो । काठमाडौंमा उहाँले साइकल चढ्न थालेको ४ वर्ष जति भएको थियो । त्यो साइकल अहिले सकुसल वहाँको त्रिवि विभागभित्रै छ ।

यसरी निधन

उहाँ साइकलमै हुनुहुन्थ्यो । उहाँ बानियाटारबाट साइकलमै कीर्तिपुर आउनुभयो । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको गेटको अपोजिट उहाँको कलेज छ । त्यो भित्रको पार्किङमा साइकल राख्नुहुन्छ । उहाँको तीन वटा कक्षाका १२० जना विद्यार्थीहरु लास्ट कक्षा लिन आएका थिए । उहाँले निकै महत्वपूर्ण कक्षा ‘टेक्निकल राइटिङ’ ‘स्टाटिक्स’ र साइन्सको महत्वपूर्ण विषय पढाउनुहुन्थ्यो ।  पढाइसकेपछि घर जान लाग्दा उहाँसँग डा. सुमनबन्धु कोइरालाको भेट भयो । उहाँहरुले २ दशक अघि एकै ठाउँमा चार वर्षसम्म सहकार्य गर्नुभएको थियो । २ दशकपछि भेट गर्ने दिन जुरेछ । मलाई पनि भेटाउने कुरा थियो, खबर गर्न भ्याउनुभएन ।

म आइपुगिन त्यसदिन । उहाँहरु पारि चिया खान जानु भएछ । साइकल कलेजमै छ । साइकल चढिरहेका बेला दुर्घटना भएको होइन । आयुर्वेदको क्यान्टिन गेटसँगै जोडिएको छ । त्यही बसेर उहाँले चिया खानुभयो । उठेर जाम गफ गर्दै गर्दै धेरै बेर भयो । दुई तीन पटक सर्दै सर्दै उभिएर गफ गर्नुभयो । अन्त्यमा फोटो लिएर छुट्मि भनेर मोबाइल निकालेरे फोटो लिन खोज्दा बस हुत्तिएर आएर पल्टिएछ । उहाँ त्यही बसमा च्यापिनु भयो र कम्मरदेखि मुनिको भाग काम नै नलाग्ने अवस्था थियो ।

घटनास्थलमै वहाँको निधन भयो । उहाँको साथी सुमनबन्धु भने फुत्त छल्लिएकाले एक दुई इन्चीले बाँच्नुभयो । म त्यो घटना सुनेपछि झण्डै बेहोस भए । उहाँसँग मेरो सम्बन्ध भएको पनि १५ वर्ष भइसकेको थियो । म अहिले पनि घटनास्थलमा पटक पटक गइरहेको छु । कतै गोविन्दले बोलाउनुहुन्छ की भनेर झझल्को आउछ । साइकल कलेजमै छ । त्यसको फोटो पनि खिचेको छु ।

भुटानी समूदायप्रति

गोविन्द जी कस्तो मान्छे हो भने, उहाँले चाहँदा विश्वको जुन कुनै देशमा पनि गएर बस्न सक्नुहुन्थ्यो । उहाँ त्यो चाहनु हुन्नथ्यो । उहाँ भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा लैजाने कुरामा पनि पूर्ण सहमत हुनुहुन्नथ्यो । उहाँलाई अमेरिका बस्नका लागि आफ्नै समूदायकाले आग्रह गर्दा जान मान्नु भएन । उहाँको एकमात्र तर्क थियो ‘हामी सबै तेस्रो मुलुकमा जाने हो भने भुटानी राजासँग गरेको आन्दोलन त सकियो त्यसैले एक जना भए पनि भुटान फर्किनु पर्छ । त्यसका लागि पनि म नेपालमै बसेर संघर्ष गर्छु । जानै परे भुटान जान्छु होइन भने अनेत्र जाँदिन्न ।’ अर्को कुरा उहाँले नेपाललाई एकदमै माया गर्नुहुन्थ्यो । यहाँ त पार्ट टाइम जागिर थियो । अर्को वर्ष कक्षा भएन भने जागिर सकिन्थ्यो । तर उहाँ हामीहरु भन्दा पनि खुसी देखिनुहुन्थ्यो । उहाँलाई कुनै गुनासै थिएन र त उहाँले नेपालललाई स्वर्णभूमी भन्नुहुन्थ्यो । डा. गोविन्द भुटानीहरुको लायक नायक हुनुहुन्थ्यो ।

कसरी ?

उहाँ बौद्धिकरुपले परिपक्व, थप परिपक्व हुँदै गइरहनु भएको थियो । कमाउ मोजमस्ती गर भन्ने ध्यानै थिएन । जाँडरक्सी केही पनि कुलत थिएन । एकदमै ‘डाउन टु अर्थ’ खालको मान्छे हुनुहुन्थ्यो । सबैको सहयोगी मान्छे पनि हुनुहुन्थ्यो । भुटानी शरणार्थी नेताहरु त एकसे एक फुटमा छन् । एउटाको अनुहार देख्दा अर्को उता फर्किने अवस्था छ ।

तर पनि डा. गोविन्द नै यस्ता व्यक्ति हुनुहुन्छ उनले नै सबैलाई एक ठाउँमा राखेर काम गर्ने ल्याकत राख्नुहुन्थ्यो । उहाँको महान कुरा भनेकै सालिनता हो । पछिल्लो समय शिविरमै गएर बस्ने योजना पनि बनाउनु भएको थियो । शरणार्थीको मुद्दामा साह्रै नै बेथिति भयो अब यसलाई सफा गरेर आन्दोलन निकर्षमा पुर्‍याउनका लागि लाग्ने प्रण गर्नुभएको थियो । साथीहरुले पठाएका कामहरु रातभरी नसुतेर पनि गरिदिनुहुन्थ्यो । मलाई लाग्छ उहाँले कमाएको पैसा त भुटानी शरणार्थी शिविर जाँदा जाँदै सिद्धिन्थ्यो होला ।

नक्कली भुटानी शरणार्थी प्रकरण पछि

नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजालको कुरा जब आयो त्यसबाट एकदमै दुःखी हुनुभयो । उहाँले पटक पटक भन्नुहुन्थ्यो, यो विषयलाई लिएर केही मुभमेन्ट गरौं । टेकनाथ रिजाललाई नराम्रोसँग फसाइयो यसबाट अन्याय भयो भन्ने उहाँको बुझाई थियो । उहाँले पहिलादेखि नै सघाउँदै पनि आउनु भएको रहेछ । उहाँको सबैसँग सम्बन्ध राम्रो थियो । भुटानी समूदायले एउटा हिरा नै गुमाएको छ । उहाँको निधन भएपछि यतिका चर्चा गर्नु भन्दा पनि पहिला नै चिनेर उहाँको योग्यता र क्षमता कदर गर्नु पर्ने व्यक्ति हो । हार्दिक श्रद्धाञ्जली ।

Source: Samaj Times

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.