Skip to content

परदेशी प्राध्यापकको मृत्युपत्र

तारालाल श्रेष्ठ

२०८१ वैशाख २३ गते । फोन छाडेर विश्वविद्यालय गएछु । घर फर्कंदा मिसकल राताम्मे रहेछ । प्राध्यापक, पत्रकार, साइकल साथीहरूको मल्टिपल मिसकल । हतारिँदै केही कल ब्याक गर्छु । अप्रिय खबर ः डा. गोविन्द रिजालको कीर्तिपुर बस दुर्घटनाबाट मृत्यु ।

सधैं पेडल पेलिहिँड्ने साइकल साथी, बस दुर्घटनामा बित्यो ? शरीर लल्याकलुलुक भइगयो । कसलाई कल गरौं भन्दाभन्दै गोविन्दकै फोनमा कल गरेछु । घन्टी गइरह्यो, उठेन । मृतक मित्रको फोनसेट कोसँग थियो कुन्नि ? साइकल हाँक्नेहरू फोन प्रायः ब्यागमा बोक्छन् । मेरो कोठाबाट घटनास्थल झ्यालमुनिझैं देखिन्छ, जहाँ चहलपहलै देख्छु । घटनास्थल पुग्छु ।

गोविन्दको साइकल त्रिभुवन विश्वविद्यालयभित्र सदाझैं सकुशल देख्छु । प्रायः हामी त्यहीं खाजा खाएर फर्किन्थ्यौं । साइकल कुदाउँदै उनी बानियाँटार जान्थे । म कीर्तिपुर किल्लातिर पेडल पेल्थें ।

प्रहरी सजर्मिन गर्दै थिए । अनियन्त्रित बस ढल्किँदै गेटसम्म आएर पल्टिएछ । भाग्छु भन्दाभन्दै त्रिवि आयुर्वेद अनुसन्धान केन्द्रको गेटमै गोविन्दलाई थिचेछ । सेमेस्टरको अन्तिम कक्षा सकेर चिया पिउन आएका रहेछन्, २० वर्षपछि भौतिक भेट भएको साइकल साथीसँग । म थप खोधखोज गर्छु । प्रहरीले सोध्छः तपाईं मृतकको को हो ?

टाइम ट्राभल

गोविन्दको ‘परदेशी इन प्याराडाइज’ आत्मकथा बोकिहिँडेका पुरन पोखरेल आत्तिँदै आइपुगे । लेखकलाई मृत्युपर्यन्त भए पनि भेट्न चाहन्थे पुरन । उनीसँगै ट्रमा सेन्टर जाँदै छु । हुरी चल्दै छ, हल्का । बाटोभरि भुटानी शरणार्थीसँगको सम्बन्ध इतिहासतिर फर्कन्छु, टाइम ट्राभलरझैं ।

सन् २००४ तिरकै कुरा हो । विद्यावारिधि अनुसन्धानको क्रममा शरणार्थी मुद्दाले तानिहाल्यो । काठमाडौंमै धेरै भुटानी शरणार्थी रहेको चाल पाएँ । उनीहरूसँग उठबस बढाएँ । संघर्षशील सबाल्टर्न समुदायसँग सहकार्य गर्नुपर्छ, दमितको उन्मुक्ति आन्दोलनलाई सघाउनुपर्छ, नत्र सम्भ्रान्तको सुगाझैं भाट बुद्धिजीवी बनिन्छ भन्ने भान भयो । सुपरभाइजर अभि सुवेदीलाई समेत थाहै नदिई सुटुक्क शरणार्थी शिविर जान थालें । पढाएरै राम्रै पैसा कमाउँथें । बिदा भयो कि उडेर भद्रपुर पुग्थें, अनि गुडेर शरणार्थी शिविरहरू । कहाँ जाने, कसलाई भेट्ने, कहाँ बस्ने कुनै पूर्वयोजना हुन्नथ्यो । जब बिदा हुन्थ्यो, शिविर पुग्थें । दसैं–तिहार, बर्खेबिदा त्यतै बित्थ्यो ।

सन् २००७ ताका सहपाठी मुक्तिनाथ घिमिरेले टेकनाथ रिजालको ‘प्यालेस टु प्रिजन’ को पाण्डुलिपि थमाइदिए । टेकनाथ–निवास ललितपुरमा हामी दिनभर पाण्डुलिपि पढेर सुनाउँथ्यौं, पण्डितले पुराण पढेझैं । टेकनाथ सुन्थे, प्रतिक्रिया दिन्थे । हामी सच्याउँथ्यौं । त्यो किताब गुणस्तरीय छापिएन । टेकनाथले अर्को किताब लेख्न थाले, ‘निर्वासन’ पछि, ‘टर्चर किलिङ मि सफ्टली’ । मैले भोलेन्टियर भएर सक्दो सघाएँ । शिविरसँग टेकनाथको सम्बन्ध टाढिँदै गइरहेको देख्थें । गोविन्द टेकनाथलाई सघाइरहन्थे ।

शरणार्थी शिविर धाउँदै ‘सपनाको समाधि’ उपन्यास लेखें । गोविन्द शान्ता कार्कीसहित जापानबाट विद्यावारिधि सकेर फिलिपिन्समा पोस्ट डक गर्दै रहेछन् । आफ्नो समुदायमाथि लेखिएका किताब तुरुन्तै पढ्दा रहेछन् । मेरो किताब पनि पढेछन् । भर्चुअल भेटबाटै हाम्रो सम्बन्ध गाढा भयो । किताबका कुरा हुन थाल्यो । वाईएन चौलागाईंको ‘साक्षी’ किताब सम्पादन गर्दै थिएँ, शिवलाल दहालको ‘अलबिदा बेलडाँगी’ र ओम पोखरेलको ‘सिलाउट अफ ट्र‘थ’ पछि । पाण्डुलिपि पीडीएफ पठाइदिएँ । ‘साक्षी’ को ब्लर्बमा गोविन्दको प्रतिक्रिया छापियो । गोविन्द डा. शान्तासहित काठमाडौं आइपुगे । मण्डला थिएटर अनामनगरमा शरणार्थी केन्द्रित साहित्यमाथि बहस कार्यक्रम थियो । गोविन्द–शान्तासँग मेरो पहिलो भौतिक भेट मण्डलामै भयो ।

सम्पादन सम्बन्ध

गोविन्दलाई फुर्सदिलो समयमा केही लेख्नुस् भन्थें । कृषि वैज्ञानिक मान्छे, कृषिविज्ञानकै बारे केही लेख्लान् भनेर सोचिबसेको थिएँ । एक दिन गोविन्द कीर्तिपुर आए । मलाई दुई लाख शब्दको पाण्डुलिपि थमाउँदै भन्यो, ‘लौ सम्पादन गरिदिनुपर्‍यो, कति पैसा लिनुहुन्छ ?’

म भावुक भएँ । एक शरणार्थी पोस्ट डक नेपाल बसिरहेको छ, बेलडाँगीको झुपडी नवीकरण गर्दै । ट्राभल डकुमेन्टमा कठिनाइ हुँदा गृह, कहिले परराष्ट्र मन्त्रालय धाइबस्छ । म जस्तो पहुँचविहीनसँग पहुँच खोज्छ । ठोस जागिर छैन । नेपालीसँग बिहे भएको छ, नेपाली नागरिकता पाउन सम्भव छैन । न पुनर्वासी नै बन्न सहज छ । मलाई कति पैसा लिनुहुन्छ भन्दै थियो । यद्यपि गोविन्द सभ्य, भव्य जीवन बाँचिरहेका थिए, हारमा पनि जितिरहेको जीवन्त व्यक्तित्वझैं । यसर्थ उनी नेपाललाई स्वर्णभूमि भन्थे, आफूलाई एक परदेशी ।

‘तपाईंसँग पैसा लिनुभन्दा ऊ त्यो रूखमा झुन्डिएर मरे भइगयो,’ मैले मंगल स्कुल छेउको रूख देखाएँ । उनी चकित भए । कसैले सम्पादनको कुरा गर्दा मोटो रकम माग गरेको कुरा गरे । पाण्डुलिपि १२०० पृष्ठको पढिसक्नु थिएन । पढन्ते विद्यार्थी नवीन तिवारीलाई पाण्डुलिपि छिचोल्न दिएँ । लामो समय लगाएर सम्पादन सकेपछि कलाकार शरद रन्जितलाई भेट्न भैंसेपाटी पुग्यौं । उनले कभरकला बनाइदिए । नयाँ दिल्लीबाट ‘परदेशी इन प्याराडाइज’ प्रकाशन गर्‍यौं । परदेश पठायौं हार्डबाउन्ड हजारौं किताब । शरणार्थी साथीहरूको आधा दर्जन किताब सम्पादनमा सघाएँ । गोविन्दको किताबले गौरवान्वित गरायो । हाम्रो सम्बन्ध सधैं अनकन्डिसनल रह्यो : शुद्ध, सादा, स्वार्थको प्रभावभन्दा पर ।

किताबकै कुरा

जीवनसाथी शान्ता लोकसेवा लडेर सहसचिव, कीर्तिपुर बागबानी प्रमुख भइन् । शान्तासँग गोविन्द कीर्तिपुर आइरहन्थे । उनले त्रिवि कीर्तिपुरमा अस्थायी अध्यापन थाले, बस्थे बानियाँटार । मेरोजस्तै साइकल किनेर हाँक्न थाले । हामीले साइकल कल्चर कम्युनिटी गठन गर्‍यौं । साइक्लिङ कार्यक्रममा निःस्वार्थ समय निकाल्थे, व्यस्तताको बाबजुद पनि । उही आयुर्वेद क्यान्टिनमा हामी घण्टौं गफिन्थ्यौं । डेढ दशकको संगतमा हामीबीच कहिल्यै मतभेद भएन । तर्कवितर्क हुन्थ्यो, भद्र सहमतिमा टुंगिन्थ्यो । मेरो उनी मेन्टर थिए, म उनको । पाठक, सम्पादक सबै । मलाई फेरि भुटानी इतिहासको भीमकाय पाण्डुलिपि पढ्न दिएको थियो ।

हामी त्यो पाण्डुलिपिको छलफलमै थियौं । भद्दा भयो, काटछाँट गर्ने कुरा थियो ।

गोविन्दलाई जातको मुद्दाले निकै छुन्थ्यो । मेरो ‘बल्झिरहने अतीत अल्झिरहने वर्तमान’ किताबले छोएछ । अंग्रेजीमा अनुवाद गर्न कम्मर कसेछन् । मोटो किताब, बीचमा अल्झिएछन् । मसँग एक हप्ता बसेर अनुवाद सक्ने भन्थे । उक्त अनुवाद अभियान पनि अब अधुरै रह्यो । गोविन्द मसँग केही किताब सहलेखन गर्न चाहन्थे । हामीले सहलेखनको खाका कोर्‍यौं । त्यसमध्ये एउटा थियो, डा. भम्पा राईको जीवनी । शिविरै गएर बस्ने, भम्पाको जीवनी लेख्ने सहमति भयो । भम्पाको जीवनीमा वीरेन मगरले काम थालिसकेको रहेछ । हामी रोकियौं । भम्पा बित्नुअघि धेरै कुरा खोतल्नुपर्ने बाध्यता बोध भयो । वर्षौं उक्त जीवनी प्रकाशित नभएपछि हामी फेरि कस्सियौं । भम्पासँग कुरा भयो । सहमतिमा सहलेखन गरौं भन्थे भम्पा । प्रकाश आङ्देम्बेले समेत सघाउन चाहे । वीरेनले सहलेखन स्विकारेनन् । हामीले हस्तक्षेप गरेनौं, पछि हट्यौं । भम्पाको जीवनीबारे हामी कुरा गरिरहन्थ्यौं ।

अनि स्तब्ध

आँधी चल्न खोज्दै थियो । हामी हुइकिँदै ट्रमा सेन्टर पुग्यौं । अस्पताल गेट पुग्दा पानी पनि बर्सियो । केही प्राध्यापक थिए अस्पतालमा, अनि साइकल साथीहरू । भुटानी कोही थिएनन् । गोविन्दकी जीवनसाथीलाई बेहोसझैं अवस्थामा आफन्तले घर लगेको रहेछ ।

प्रहरीले मृतकको मृत्युपत्र बुझ्न आफन्त खोजिरहेको थियो । मैले ‘म बुझ्छु मृतकको मृत्युपत्र’ भनें । प्रहरीले भन्यो, ‘तपाईं मृतकको को हो ?’ ‘म निकटतम् साथी हुँ’ भने । प्रहरीले ‘मिल्दैन’ भन्यो । आफन्त अमेरिकामा छन् ।

जीवनसाथी मृत्युपत्र बुझ्ने अवस्थामा छैन । मलाई मृत्युपत्र दिन प्रहरी मान्दैन । बरु भीड भयो भनेर हामीलाई बाहिर निकाल्यो ।

हामी फेरि भित्र पस्यौं । गोविन्दलाई भर्खर चिनेका साइकल साथीहरू आएका छन् ।

हामी गोविन्दको अनुहार हेर्न चाहन्छौं भनेर मृत्युपत्र बोकेका प्रहरीलाई अनुरोध गर्‍यौं । ‘ऊ त्यो हो, आफैं हेर्नुस्’ भन्यो । हामी भित्र गयौं, कपडा उठाएर साथीको अनुहार हेर्‍यौं ।

साइकल साथीहरू भक्कानिँदै रुन थाले । मेरो त झन् अभिन्न मित्र, जोसँग कहिल्यै स्वार्थको सम्बन्ध भएन । उनको निर्दोष अनुहार हेर्दै हामी खुब रोयौं ।

गोविन्द सम्झनामै सीमित भइसकेको थियो । उही आयुर्वेद केन्द्रको क्यान्टिनमै उनी इतिहास बनेर बसे । अनियन्त्रित बस गेटसम्मै उछिट्टिएर पल्टिएछ । सँगै उभिएका साथी भाग्न भ्याए । गोविन्द भने भाग्नै भ्याएनन् । बसले उनलाई नराम्ररी थिचेछ । हामी तीनजना भेट्यौं, तर गोविन्द अमुक लडिरहेको अवस्थामा, आर्यघाटमा उनी जल्दै गर्दा । बौद्धिक साइकल अभियान हाँक्ने हाम्रो सपना थियो । त्रिविजस्तो विशाल विश्वविद्यालयमा मेरो साइकल साथी उनी मात्रै थिए । जो इतिहास बनिगए । म एक्लो असहायझैं रोइरहें, रोइरहेछु । स्तब्ध समयमा एक परदेशी प्राध्यापकको त्यो मृत्युपत्र मलाई मेरै मृत्युपत्रझैं किन लाग्दै छ ? उनीजत्ति असल अभियन्ता म आफैं छुइन कि ? उनको अन्त्येष्टिमा उपस्थित भीडले यही भन्दै थियो ।

Source: eKantipur

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.