Skip to content

भम्पा- आधारबाट शिखरको उत्खनन

श्री वीरेन मगरकृत ‘भम्पाः एक अडान अनेक प्रश्न’ डा. भम्पा राई, वा डा. साहबको मरणोपरान्त जीवनी हो । मरणोपरान्त भनिए पनि यो लेखन डा. साहब जीवित हुँदै उहाँ कै सहमतिमा सुरु भएको थियो । प्रकाशक रत्न पुस्तक भण्डार, काठमाडौँले बजारमा ल्याएको यो जीवनीमा डा. साहब बोल्न सक्ने बेलासम्मको जीवन गाथा प्रथम पुरुषमा आत्मकथात्मक शैलीमा र अचेत अवस्थाको पाटो लेखकीय जोडेर पुरा गरिएको छ ।

पुस्तक पढ्दा सलल बग्छ, भाषागत त्रुटि नगण्य छन् सुरुदेखि अन्तिमसम्म । सुरुमा डा. राईको बाल्यकाल र तन्नेरी जीवनका रमाइला घटनाहरू समेटिएका छन् । मध्यतिर सङ्घर्षका सीमाहीन चरम परिस्थितिहरू छचल्किएका छन् र अन्त्यतिर वियोगका पराकाष्ठाहरू छन् । एक साधारण भुटानी डाक्टरको असाधारण जीवनी आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ ।

जे जति लेखिएको छ उत्तम छ ।

डा. राईको जन्म सीमावर्ती क्षेत्रमा अवस्थित बाडामा भएको हो, जुन कुनै एक समय भुटान र भारत दुवैको अधिकार क्षेत्रभन्दा बाहिर थियो। समय बित्दै जाँदा यो आधिकारिक रूपमा भुटानमा समाहित भयो, र बाडाको मूल निवासी भम्पा राई जन्मसिद्ध अधिकारद्वारा भूटानी नागरिक बने। उनको शैक्षिक यात्रा आफ्नै गाउँको विद्यालयबाट सुरु भयो, अन्ततः उनले आफ्नो परिवारबाट मात्र होइन आफ्नै गाउँबाट पनि पहिलो मेडिकल डाक्टर बन्ने उल्लेखनीय विशिष्टता हासिल गर्न नेतृत्व गरे। पछि, उनले आफ्नो सीप र विशेषज्ञतालाई परिष्कृत गरे र एक उच्च निपुण सर्जनको रूपमा स्थापित भए ।

यस जीवनीका पानाहरूमा पाठकहरूले डा. राईको बहु-आयामिक व्यक्तित्वलाई आकार दिन महत्त्वपूर्ण योगदान पुर्‍याएका असङ्ख्य घटनाहरूबारे जानकारी पाउँछन् । डा. साहबको अन्तरजातीय विवाहको वर्णनले ती जटिलताहरूलाई खोल्छ, जसले सामाजिक र सांस्कृतिक धारणाहरू र व्यवहारहरूले व्यक्तिगत जीवनमा पर्ने प्रभावहरूको गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ । पुस्तकमा भुटानको राजनीतिक आन्दोलनका महत्त्वपूर्ण क्षणहरूको संक्षिप्त वर्णन छ जहाँ डा. राईको परिवारको संलग्नता र अन्ततः उनको आत्मनिर्वासन समेटिएको छ। यो एक इतिहास हो, इतिहासभन्दा धेरै जीवनी नै हो ।

यो पुस्तकमा सामान्यतया अरू धेरै पुस्तकमामा जस्तो पाठहरूभन्दा अगाडि राखिने परम्परागत प्रस्तावना वा शुभकामनाहरूको अड्चन सामना गर्नु पर्दैन । सिधै कथामा डुब्न पाइन्छ । यस अर्थमा यो पुस्तकको सरलता प्रशंसायोग्य छ । पाठकको ध्यान सुरुदेखि नै मार्मिक कथनले खिच्छ: “म एक स्वेच्छाको शरणार्थी हुँ।” यदि शरणार्थी प्रमाणीकरणको अन्तर्राष्ट्रिय प्रोटोकल लागू गरिएको थियो भने सदा अब्बल छात्र राई यहाँ पास हुने थिएनन् । पुस्तकको क्लाईमेक्स “उर्मिला खण्ड” हो। आफूलाई कठोर ठान्ने पाठकहरूले समेत यो खण्डमा आँसु झार्नेछन् पटक पटक- अविरल।

“आमा बिरामले थलिँदा राम्रो ओछ्यान दिन सकिनँ। कान्छी बहिनी क्यान्सरले बितिन्। उनीहरूलाई राम्रो अस्पतालमा देखाउन सकिनँ। उनीहरू सबै मेरो जीवनका त्यस्ता पात्रहरू हुन् जसले म डाक्टर भएकोमा छाती चौडा बनाएको थिए ।” (पृष्ट २६९)

पछि वहाँहरू आफै बिरामी हुँदा पनि त्यस्तै पर्छ, “त्यस बेला हाम्रो अवस्था बडो दयनीय थियो । हामी दुई पति-पत्नी एक-एक वटा अस्पतालमा थियौँ, एक जना आइसियुमा अर्को डायलाईसिसमा ।” (पृष्ट २८३)

सात दशकको क्रियाशील यात्रा, तीन पात्र र तिनका परिवेशहरू तीन सय पृष्ठमा समेट्नु असम्भव हो र त्यो सबै त्यहाँ खोज्नु मूर्खता । जे जति समेटिएको छ, त्यसका लागि सर्जक धन्यवादका पात्र भएका छन् । जुन छुट्न नहुने अंश छुटेको छ- त्यसले अर्को कृतिको खाँचो देखाएको छ ।

आफूले सक्रिय जीवन बिताइरहँदा डा. राईले विभिन्न आरोपहरूको सामना गर्नु पर्‍यो । यो जीवनीमार्फत उहाँले खेप्नु परेका ती आरोपहरूको सम्बोधन गर्ने, स्पष्ट पार्ने अवसर थियो । यी आरोपहरू मध्ये केही सम्झन्छु: जातीय विभेदलाई बढवा दिएको आरोप । शिविरमा रहेका शरणार्थीहरू उनको जातीयताको खोलमा बन्धक भएको आरोप। आन्दोलनहरूमा कहिल्यै सक्रिय संलग्नता नजनाएको र आन्दोलनलाई मध्यरात्रि चिठ्ठीहरूमा सीमित राखेको आरोप। र अरू त्यस्तै आरोपहरू ! दुर्भाग्यवश, यस्ता कैयौँ आरोपहरू जीवित छन् । यो पुस्तकले ती आरोपहरू भ्रामक थिए वा नियोजित, तिनीहरूको प्रभावकारी रूपमा सम्बोधन गर्न सफल भएको पाइँदैन ।

डा. साहबबाट एकतर्फी स्पष्टीकरण आएका छन्, अर्को पक्षको धारणा चित्रण गरेको पाइँदैन । जीवनीहरूमा त्रिकोणीय तथ्यहरू प्रमाणित (ट्याङ्गुलेसन) गर्न र सत्य तथ्य विषयको व्यापकीकरण, सही चित्रण सिर्जना गर्न मूल पात्रसँग सम्बन्धित, मित्र, आफन्तजन, जानकार, चिनारुसँग अन्तर्वार्ता लिनु, कागजातहरू र व्यक्तिगत लेखोटहरू भिडाउनु, क्रस-रेफरेन्सिङ समावेश गर्नु जरुरी हुन्छ । यो विधिले जीवनीको विश्वसनीयता र गहिराइ सुनिश्चित गर्न मद्दत पुग्दछ ।

संक्षेपमा भन्नु पर्दा, यो जीवनी डा. भम्पा राईको लचिलोपन, उहाँले आफ्नो पेशामार्फत गरेको अतुलनीय समाज सेवा, मानव स्वस्थ क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदान, उहाँको बेजोड चिकित्सकीय क्षमता र उहाँले अङ्गीकार गरेको सदाबहार मानवताको अनमोल प्रमाण हो ।

लेखकले अवलम्बन गरेको शैलीले कथामा छुट्टै मिठास थपेको छ । जीवनी साहित्यको क्षेत्रमा एक उल्लेखनीय ग्रन्थ थपिएको छ। यो पुस्तकका सकारात्मक पक्षहरू स्पष्टता, संक्षिप्तता, र लेखकको आकर्षक कथा लेखन शैलीको छनोट हुन्। यो एक प्रशंसनीय साहित्यिक कार्य र कृति हो जसले अदम्य मानव भावनालाई जन्माउँछ र यसलाई पढ्ने र सुन्ने सबैलाई प्रेरणा दिन्छ; सतर्क बनाउँछ ।

डा. साहब प्रति हार्दिक श्रद्धाञ्जली ।

लेखक श्री वीरेन मगरलाई हार्दिक धन्यवाद र आगामी कार्यको निम्ति शुभकामना ।

Source: Bhutanese Literature

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.