Skip to content

स्वीकारोक्ति दर्शन- एक झलक

विश्व यात्रामा लम्केको स्वीकारोक्ति फाउन्डेसन अमेरिकाका सदस्यहरूको प्रथम चरण काठमाडौँमा स्वागत गर्ने, सहकार्य गर्ने र शुभकामना दिने मौका मिल्यो। यसै मौकामा बुझाइएका र मैले बुझेका कुराहरू यहाँ प्रस्तुत गर्दछु ।

यसै दौरान- साइकल कल्चर कम्युनिटी (साइकल संस्कृति समुदाय) सँग आबद्ध भई यो सहकार्यमा सहभागी हुन पाएँ र नेपाल प्रहरीको कडा सुरक्षा, निगरानी र निर्देशनमा हरियो पहिरनमा सजिएका लगभग डेढ सय जना साइकल यात्रीको एक साइकल र्‍याली सौहार्दपूर्ण सञ्चालन भयो ।

र्‍यालीपछि अन्तरक्रियात्मक पत्रकार सम्मेलन भयो । सम्मेलनको अघि, बीच र पछि स्वीकारोक्ति दर्शनका विविध पक्षमा विभिन्न समूह, उप-समूह र जोडीहरू बीच अन्तरक्रियाहरू भए ।

उक्त सम्मेलनमा पत्रकारहरू सहित साइकल यात्रीका साथमा स्वीकारोक्ति दर्शनका प्रवर्तक र अनुयायीहरूका कुरा सुन्न र हौसला दिन प्राध्यापक डा. गोविन्दराज भट्टराई, कवि विप्लव प्रतीक, साहित्यकार ब्रेयन हितान, पेब्सन काठमाडौँका अध्यक्ष प्रेम राई तथा भद्र भलादमीहरूको उपस्थिति थियो । शुभकामना तथा वैचारिक प्रशंसाहरू आदान-प्रदान भए ।

विनाशतर्फ लम्किएको द्वन्द्वात्मक विश्वमा मानवहित तथा पृथ्वी र प्रकृतिको रक्षा स्वरूप सबै जीव-निर्जीवको समान अस्तित्व न्यायिक सम्बोधनको लक्ष्य स्वीकार गर्दै जीवनमा प्रयोगात्मक अनुसरण गर्नु स्वीकारोक्तिको मूल मन्त्र छ। सन् २०२३मा प्रकाशित ‘स्वीकारोक्ति फिलोसोफी बेसिक गाईडलाइन्स’मा लेखिएअनुसार- स्वीकारोक्ति दर्शनमा दुई सारहरू, चार आधारभूत सिद्धान्तहरू, पाँच आवश्यकताहरू र आठ प्रमुख विशेषताहरू छन्।

दुई सारहरूमा समावेश छन्: (क) स्वीकारोक्ति विविधतामा एकता र समानता खोज्छ; (ख) स्वीकारोक्ति अस्तित्वको लयको विधिलाई पङ्क्तिबद्ध गर्दछ।

चार आधारभूत सिद्धान्तहरूमा समावेश छन् (क) उद्देश्य, अपूर्णता, समानता, निरन्तरता, ससर्तता (कन्डिसनालिटी), परिस्थिति, र अतींद्रियता (ट्रानसिडेन्टालिज्म); (ख) मानव जीवनको पीडा, सुख र प्रगति; (ग) व्यक्ति परक दृष्टिकोण; र (घ) नैतिकता, आदर्श र समता पूर्ण जीवनको अन्तिम मार्ग।

पाँच अत्यावश्यकताहरू समावेश छन् (क) सबै व्यक्तिहरूमा आन्तरिक मूल्यको अवधारणालाई अँगाल्ने; (ख) सरलता र स्पष्टतालाई समर्थन गर्ने; (ग) मौलिक र विश्वव्यापी हुनु; (घ) विषयगत मूल्याङ्कन गर्नु; र (ङ) प्रकृतिलाई स्वीकारोक्ति दर्शनको स्रोत मान्नु। त्यस्तै, आठ प्रमुख विशेषताहरू हुन् (क) सहानुभूति र करुणालाई बढवा; (ख) जवाफदेहिता; (ग) अनिर्णयात्मकता; (घ) परिवर्तन र वास्तविकताको स्वीकार; (ङ) आन्तरिक शान्ति; (च) कृतज्ञता; (छ) जागरूकता; र (ज) लचिलोपना ।

स्वीकारोक्ति दर्शनको रूपमा छलफल हुन थालेको एघार वर्ष पुगेको छ । यस दर्शनका प्रवर्तक श्री डेन्जोम साम्पाङ र उहाँको समुहले एघार वर्षअघिदेखि नै गोष्टीहरू गर्ने गरेको स्वीकारोक्ति फाउन्डेसनको वेवसाइट स्वीकारोक्ति फिलोसोफी डट कमले जनाउँछ ।

यो विश्व भ्रमणको पहिलो वर्ष नेपाली भाषी बसोबासो गर्ने क्षेत्र लक्षित गरिएको छ। स्वीकारोक्तिका प्रवर्तक डेन्जोम साम्पाङ, फाउन्डेसनका संस्थापक अध्यक्ष कर्ण गुरुङसहित यस दर्शनका साधक, परिवार जन, सहयोगी तथा पत्रकारहरूको एघार सदस्यीय टोली काठमाडौँबाट झापा, मोरङ, सुनसरी, इलाम हुँदै भारतको सिक्किम, दार्जिलिङ, सिलीगुडी हुँदै असमको गौहाटी सम्मको यात्राको योजना छ।

काठमाडौँमा प्रकृति-मैत्री साइकल र्‍याली आयोजना गरे जस्तै कतै वृक्ष रोपन, कतै विद्यार्थीहरूको निम्ति कार्यशाला जस्ता कार्यक्रमहरू तय भएका छन् ।

त्यस्तै असममा साहित्यकार श्री लीलबहादुर क्षेत्रीलाई प्रथम स्वीकारोक्ति सिद्ध व्यक्ति नामक पदावलीले सम्मान गर्ने र पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम तय भएको प्रचार गरिएको छ।

यस दर्शनका प्रवर्तक तथा साधकहरू प्राय भुटानको पृष्ठभूमि भएका- झन्डै दुई दशकसम्म परिचय विहीन वा कति अवस्थामा आफ्नो यथार्थ परिचय लुकाएर कैयौँ कृत्रिम परिचय धारण गरेर जीविकोपार्जन तथा अध्ययन गरेका र तत तत बखत उत्पन्न मानसिक द्वन्द्व, र कैयौँ अनुत्तरित प्रश्नहरूको निकास स्वरूप प्रतिपादित सिद्धान्त, तार्किक विमर्शहरू केलाउँदै र मनन गर्दा जन्म भएका तर्क मार्गदर्शनको सङ्कलन नै स्वीकारोक्ति दर्शनको आधार बन्न गएको छ ।

पीडित, परिचयहीन, अस्तित्व अ-स्विकारिएका समेतका तमाम मानवीय पक्षलाई सहयोग पुर्‍याउने दर्शन हो जुन विश्वव्यापी हुनै पर्छ ।

गायत्री मन्त्र, बौद्ध, कन्फ्यूसस, जेन, ईकीगाई जस्ता पूर्वीय दर्शनहरू हुन् या पाश्चात्य प्लेटोनिज्म, एरिस्टोटेलियनिज्म, अस्तित्ववाद, उपयोगितावाद, व्यावहारिकतावाद हुन्- दर्शनका कमी छैनन् । नियालेर हेर्दा थाहा हुन्छ प्रत्येक समुदायभित्र विशिष्ट जीवन दर्शनहरू पाइन्छन्। तर ती दर्शनहरू कि त कुनै सम्प्रदायको कर्मकाण्डमा सीमित छन् वा पुस्तकका ठेलीहरू भित्र बन्द ।

सरल र सबैको सहज पहुँचमा पुग्ने दर्शनको आवश्यकतालाई पुरा गर्ने उद्देश्यले प्रतिपादित, प्रचारित र प्रसारित गरिएको दर्शन, सिक्न बुझ्न इच्छुक हुने र आवश्यक हुने सबैमा पुग्न जरुरी छ – प्रयोगमा ल्याउन, अनुसन्धान हुन, र फराकिलो र गहन मन्थन हुन आजको आवश्यकता हो जुन स्वीकारोक्तिको विश्व यात्राको उद्देश्य हो र उद्देश्य पूर्ण होस् ।

अघि भने झैँ, यो भुटान पृष्ठभूमिबाट अंकुरकन भएको दर्शन भनिएको हुँदा विश्वमा दर्शनहरूको लामो सूचिमा नवप्रवेशी भए पनि भुटानको दोस्रो दर्शनको रूपमा उदाएको छ । भुटानको पहिलो दर्शन कुल राष्ट्रिय खुसी वा ‘ग्रस नेसनल ह्यापिनेस’को विधिवत् प्रवर्तन सन १९८७ मा प्राध्यापक डा. ठाकुर सिङ पौड्यालले सेरवची कलेजको स्मारिकामा एक लेख लेखेर गरेका थिए, जुन आज भुटानको राष्ट्रिय नीतिको मूल सार बनेको छ र विश्वव्यापी मन्थनको विषय पनि।

त्यसको दुई दशकपछि प्रतिपादित स्वीकारोक्ति दर्शनले अमेरिका, नेपाल र भारत हुँदै विश्वव्यापीकरणतर्फ पाइला अघि सारेको छ । स्वीकारोक्ति दर्शन प्रचार-प्रसार गर्न विश्व शान्ति यात्रामा निस्कनु भएका सम्पूर्ण साधकहरू, प्रवर्तकहरू सुवेक्षकहरू प्रति हार्दिक शुभकामना ।

स्वीकारोक्ति विश्व शान्ति यात्रा समूहमा – डेनजोम साम्पाङ, कर्ण गुरुङ, रिता गुरुङ, कर्मा गुरुङ, पातलो अन्तरे, शेखर कोइराला, आभाष रिखाम मगर, खड्ग गजमेर, दियालो सुसन माझी, नेत्र आचार्य, अर्जुन उप्रेती, शिला उप्रेती “बोजु”, दिलिप घिमिरे, आदि रहेकाछन् ।

Source: Bhutanese Literature

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.