Skip to content

त्यो अन्तिम सेल्फी

The last selfie taken just before accident in Kirtipur, Kathmandu
The last selfie taken just before accident in Kirtipur, Kathmandu

देवेन्द्र भट्टराई

भूटानी शरणार्थी गोविन्द रिजाल आफ्ना बुबाआमासँग पुनर्वासमा जान चाहेनन्। नेपाललाई स्वतन्त्रता र स्वच्छन्दताको स्वर्णभूमि मान्दै यतै प्राध्यापन र अनुसन्धान कर्ममा लागिरहे। आखिरमा यहीं प्राण त्यागे।

स्वदेशबाट लखेटिएपछि शरण लिइएकै थलोमा सन्तुष्टि खोज्दै थिए, गोविन्द रिजाल। त्यही अठोटले ३० वर्षयता अनवरत कुदिरहेको थियो उनको साइकल। तर दुर्भाग्य, अब यात्रा रोकिएको छ।

छातीमा भूटानी शरणार्थीको परिचयपत्र (नम्बर ५३४-०५२०२२००) बोकेर कीर्तिपुरस्थित कृषि र पशुविज्ञान अध्ययन संस्थानमा प्राध्यापन गर्दै आएका रिजालको वैशाख २३ गते विश्वविद्यालय परिसरमै गाडी दुर्घटनामा ज्यान गयो। जाहेरी, पोस्टमार्टम सहितका प्रक्रिया पूरा गरेर वैशाख २६ साँझ पशुपति, आर्यघाटमा अन्तिम संस्कार गरियो।

दक्षिणी भूटानमा नेपालीभाषी (ल्होत्साम्पा) माथि राज्यले धरपकड थालेसँगै सन् १९९२ को शुरूआतमै गोविन्दका बाआमा पूर्वी नेपाल आइपुगेका थिए। जन्मिएकै माटोमा जीवन बिताउने अठोटले जेठा छोरा गोविन्द भने भूटानकै गेलेफु, थिम्पु, शेरब्से, गुन्टे, फुन्चोलिङतिर कुदाकुद गर्दै थिए। केही उपाय नलागेपछि अन्ततः उनी पनि बाआमा बसेको छाप्रो खोज्दै २३ फेब्रुअरी १९९३ मा बेलडाँगी (झापा) शिविर आइपुगे, २१ वर्षे उमेरमा।

पुस्तक पढ्ने, अनुसन्धानमा रुचि राख्ने र नेपालीभाषीप्रति भूटानी शासकको हेलाबारे लेखेर/बोलेर जातीय अस्तित्वको सरोकार ब्युँताइरहने गोविन्द कालान्तरमा शरण लिएको मुलुकमै बस्न चाहे, पुनर्वासमा तेस्रो देश जान चाहेनन्। बाआमा चन्द्रलाल र देवीमाया तथा भाइ शिवलालको परिवार भने अमेरिका गइसके।

गोविन्द शरणार्थी शिविरमा कविता उत्सवका अभियन्ता हुन्थे। अझ अगाडि बढेर घरफिर्तीको अभियान पीस मार्च (१९९६) मा जोडिएका थिए- मेचीपुलदेखि हिंडेरै थिम्पु पुग्ने सामूहिक अभियान। त्यही लर्कोमा जोडिएर केही समय भारतका जलपाइगुडी, रानीगन्जका कारागारमा थुनिए पनि।

“बेलडाँगी शिविरमा शुरूआती दिनदेखि हामी छिमेकी थियौं, भर-अभरका आफन्त पनि,” अन्तिम संस्कारमा सहभागी हुन बेलडाँगीबाट काठमाडौं आएका तिलक राईले भने, “शरणार्थीको धरातल तथा अधिकारको अजेन्डा सम्झाइराख्न सधैं तत्पर रहने गोविन्द हाम्रा निम्ति भुइँतहका एक मात्र प्राज्ञिक र बौद्धिक पात्र थिए।”

झापामा आयोजित दियालो विमोचन कार्यक्रममा गोविन्द रिजाल।

शिविरमा साहित्यिक, चेतना र अधिकारका कार्यक्रम हुँदा कुदेर पुगिहाल्थे गोविन्द। गत साता (वैशाख २०-२१) मात्रै पनि शरणार्थी समुदायबाट निस्कने वार्षिक साहित्यिक प्रकाशन दियालोको विमोचनका निम्ति बेलडाँगीको पुस्तकालय (लिटरेरी सोसाइटी अफ भूटान)मा हाजिर थिए। शरणार्थीसँग जरो जोडिएका नामहरू डा. भम्पा राईको स्मृतिसभा होस् वा देवीभक्त लामीटारेबारेको मीमांसा, उनी छुटाउँदैनथे।

‘अ परदेशी इन प्याराडाइज’ 

शरणागत हालतमै जापान (क्योदो) पुगेर वनस्पति प्रजनन विषयमा विद्यावारिधि गर्ने अवसर पाएका गोविन्दले फिलिपिन्स पुगेर धान प्रजातिको बीउबिजनमा समेत काम गरेका थिए। यस बाहेक चितवनको रामपुरस्थित कृषि क्याम्पसको छात्र हुँदै काठमाडौं विश्वविद्यालय (हाइस्कूल)मा कर्मचारी/प्राध्यापक बनेको, सहकर्मी भौतिकशास्त्रका सुमनबन्धु कोइरालासँग मिलेर देशका पाँच विकास क्षेत्रमा थालिएको ‘म्याथमेटिक्स’ ओलम्पियाड (गणित क्लब/काउन्सील, २००३) सम्मका अनुभव उनीसँग थिए।

प्रतिभासम्पन्न सहपाठी शान्ता कार्की (हाल- सहसचिव, कृषि मन्त्रालय)सँगको वैवाहिक सम्बन्ध र नागरिकबाट अनागरिक बनिएका क्षणहरूको विवरण भरेर गोविन्दले अ परदेशी इन प्याराडाइज (२०१८) पुस्तक समेत निकालेका छन्। कथासंग्रह बेजोड बन्ध पनि प्रकाशित छ।

विशेषतः बुबाआमा अमेरिका गइसकेपछि गोविन्दले सोच्न थालेका रहेछन्- अलौकिक ठाउँ, स्वर्णभूमिबारे। “अमेरिका पनि मेरो परिवारका लागि स्वर्गतुल्य ठाउँ होइन। स्मृति लोप हुँदै गएपछि र जागीर गुमेपछि बुबा अस्पताल भर्ना हुनुभएको खबर पाएको छु। दाजुदिदीहरू घर-गाडी खरीद गरेपछिको किस्ताबन्दी ऋणमा फसेका छन्। उनीहरू दिनरात काममा जोतिएका छन्। …अरू धेरै अग्रज मानसिक तनाव र रोगको शिकार बनेका छन्, कतिपय राति सुत्न वेलामा डिप्रेशन कम गर्ने औषधि वा स्लिपिङ-ट्याब्लेट खाएर ओछ्यानमा गइरहेका छन्,” गोविन्दले लेखेका र भनेका छन्, “यसकारण मेरा सपना, महत्त्वाकांक्षा र उपलब्धिको अन्त्य भनेकै यही हो। म जहाँ जाऊँ, जता बसौं त्यही मेरो ‘स्वर्णभूमि’ हो र म सधैंको परदेशी !”

हुन पनि कुनै वेला खल्तीमा आफ्नै भूमिको नागरिकता बोकिहिंड्ने भूटानी नागरिक गोविन्द शासकको अविवेकले पेलिएर भारतीय भूमि हुँदै नेपाल पसेपछि नै ‘परदेशी’ भइहाले। त्यसयता पढाइ र वृत्तिविकासमा जता-जहाँ पुगे पनि परदेशी नै रहे।

अ परदेशी इन प्याराडाइजका सम्पादक तारालाल श्रेष्ठले संक्षेपमा उतारेको टिपोट पनि उत्तिकै अर्थपूर्ण छ। उनले टिपेका छन्, “सधैंका साइकलयात्री गोविन्द जे देखिन्थे, ती थिएनन्। बाहिरबाट उनी हँसमुख थिए, तर उनीभित्र एउटा आँधी थियो। शरणार्थीकै रूपमा पनि नेपालमा पाइने स्वतन्त्रता र स्वच्छन्दता यो जगत्‌मै कतै छैन भन्थे उनी। नेपाल उनका लागि स्वर्णभूमि थियो, तर यो पनि अन्तिम गन्तव्य त थिएन- एउटा ट्रान्जिट मात्रै। उनको स्वदेश के थियो, कहाँ थियो त? त्यही भएर लेखेको हुँ- हिज ट्रान्जिट इज हिज ह्याभन!”

स्मृतिमा बेलडाँगी

“मलाई नेपालको स्मृतिमा सबैभन्दा तरोताजा बेलडाँगी छ जहाँ म शरणागत हुन आएको थिएँ। ती झुप्रे घर, आलो माटो बसाउने चित्राको भित्तो, फलाम गनाउने कलको पानी, पालोमा किरासिन (मट्टीतेल) लिन जाँदाको हतार, दाताले दिएको चामल/दाल थापेर आउँदाको खुशी… यी धेरै कुरा छन् बेलडाँगीका,” गोविन्दले कुनै वेला सुनाएका थिए, “मेरो जीवनकै स्मृतिको स्वर्णकाल बनेको बेलडाँगीलाई सम्झेर छुट्टै किताब लेख्ने भएको छु।”

केही महीनाअघिसम्म शरणार्थी नेता टेकनाथ रिजाललाई भेट्न सुन्धाराको केन्द्रीय कारागार पुग्दा संयोगले गोविन्द र म सँगै पर्थ्यौं। उनी टोखादेखि साइकल लिएर आउँथे सुन्धारा, त्यहाँबाट कीर्तिपुर पनि साइकलमै जान्थे। टोखाको घरमा रहरले एभोकाडो रोपेको सुनाउँथे, कारागारभित्र उपहार पनि एभोकाडो नै लिएर आएका थिए। दमक, ढुकुरपानी, आमचोक, बाघखोर, बेलडाँगीदेखि दुम्से, चपेटी र पेल्टीमारीसम्मका अनेक स्मृति जोडेर गोविन्दले ‘बेलडाँगी : म शरणागत’ को थोरतिनो प्लट सुनाएका थिए, निकै रफटफ भाकामा।

बेलडाँगी स्मृतिमा उनको शुरूआत थियो-

सन् १९९३ फेब्रुअरीको अन्तिम दिन। मभन्दा एक वर्षअघि नै गाउँ छाडेर नेपालमा शरण लिन आइसकेका थिए मेरा बाआमा। बा चन्द्रलाल र आमा देवीमायाको शरणार्थी झुप्रो खोज्दै म पनि आइपुगेको थिएँ। बेलडाँगी भन्ने ठाउँमा पुग्न दमक चोकबाट बस लाग्ने रहेछ।

बस स्टेन्ड र वरपर सबै खचाखच भूटानी आफन्तहरू भेटिए। भन्नलाई नै शरणार्थी बस, शरणार्थी लाइन, शरणार्थी रासन, शरणार्थी केरासिन…यस्तै-यस्तै भन्ने रहेछन्।

म हिजोसम्म शेरब्से, गुन्टे गाउँतिर भूटानी नागरिकता भएको, उतैको पढाइगुनाइमा रमेको एक अब्बल नागरिक भन्ठान्थें। आज भने आफूले किताबमा मात्रै पढ्दै आएको शरणार्थी बनिसकेको थिएँ, त्यो पनि दर्ता भइनसकेको।

कोचाकोच बसले घरीघरी मान्छे चढाउँदै र उतार्दै झन्डै एक घण्टा लगाएर बेलडाँगी शिविर ल्याएको थियो। जंगलको छेवैमा लहरै बाँस र खरले बुनिएका झुप्रैझुप्रा मात्रै देखिन्थे। अब कहाँ भेट्ने बाआमालाई?

बुबाआमा भेट्ने धोको

नक्कली शरणार्थी प्रकरण र त्यसले सक्कली शरणार्थीलाई मार पारेका समाचार गोविन्दले पढ्दै आएकै थिए। यस्तैमा उनलाई अमेरिकामा बाआमाको स्वास्थ्यस्थिति खस्किएको र जेठो छोरालाई भेट्ने अन्तिम इच्छा गरेको खबर आयो। त्यसकै लागि उनी यात्रा-अनुमतिपत्र लिने हतारोमा देखिन्थे।

६ महीनायता गोविन्द कहिले गृह मन्त्रालय, कहिले झापाको सीडीओ कार्यालय त कहिले बेलडाँगीकै शरणार्थी समन्वय एकाइ (आरसीयू) धाइरहेका हुन्थे। तर भूटानी शरणार्थी भन्नासाथ ‘नक्कली कि सक्कली’ भनी सोधिने प्रश्नले हैरान थिए। त्यसमाथि गृह मन्त्रालयका कर्मचारी त शरणार्थी शब्द सुनेरै तर्किन थालेका थिए। प्रकरण बाहिरिएपछि गृहले वर्षदिनयता शरणार्थीलाई ट्राभल-डकुमेन्ट, एक्जिट-पर्मिट वा अरू कुनै प्रकारका कागजात उपलब्ध गराउनै बन्देज लगाएको छ।

त्यही भएर गोविन्दले गत चैत ५ मा बेलडाँगी शिविरका सचिव (सन्चहाङ सुब्बा) र जिल्लाको शरणार्थी समन्वय एकाइ मार्फत अमेरिकामा रहेका बिरामी मातापितालाई भेट्न यात्रा अनुमतिपत्र पाऊँ भन्दै आवेदन दिएका थिए। उनले त्यसमा लेखेका छन्, “आफ्नो उमेर र लामो पारिवारिक बिछोडका कारण मेरा मातापिता बिरामी पर्दै जानुभएको छ। जेठो छोराका रूपमा म उहाँहरूलाई यो कठिन समयमा सान्त्वना र भावनात्मक समर्थन प्रदान गर्नुपर्ने गहिरो जिम्मेवारी महसुस गर्छु। मातापिताबाट अलग भएर बिताएका प्रत्येक पल मेरो हृदयमा भारी बोझ भएर बसेका छन् र मातापिताको मनमा पनि त्यस्तै अवस्था छ भन्ने बुझ्छु। र चाँडोभन्दा चाँडो भेट गरेर उहाँहरूको स्वास्थ्यलाभ भएको हेर्न चाहन्छु।”

दुर्भाग्य, गोविन्दले शरणागत राज्यसँग गरेको यो हारगुहार अझै झापाकै सीडीओ कार्यालयमा थन्किएको छ। अमेरिकामा छोरा पर्खिरहेका जीर्णकाय मातापिता उल्टै उसैको सुद्ध्याइँ-कर्ममा खटिनुपरेको छ। “आदरणीय गोविन्द रिजालको अकल्पनीय निधनले उहाँका वृद्ध पितामाता र परिवार मात्र होइन, हामी डायस्पोरामा रहेका सबै भूटानी समुदाय आहत भएका छौं। एकअर्कामा समवेदना पनि कसरी दिन सकिएला भन्ने मुश्किलको घडी उब्जिएको छ,” पत्रकार टीपी मिश्रले अमेरिकाबाट भने।

संयोग-वियोग

५२ वर्षे अल्पायुमा बितेका गोविन्दको अन्तिम घडीसँग एउटा अनौठो संयोग जोडिएको छ, जसले उनकै एक अनन्य मित्रलाई वियोगको प्रत्यक्षदर्शी बनाइदिएको छ। उनी हुन्- डा. सुमनबन्धु कोइराला। दुई दशकअघि काठमाडौं विश्वविद्यालय र स्कूलमा झन्डै चार वर्ष सहकार्य गरेका उनीहरू अध्ययन तथा यात्राका क्रममा अलग्गिएका थिए। सुमनबन्धु अमेरिकाको भर्जिनियास्थित ओल्ड डोमिनियन युनिभर्सिटीमा भौतिकशास्त्रमा पीएचडी गर्न निस्किएका थिए। लगत्तै गोविन्द जापानको क्योदो पुगे।

काठमाडौं विश्वविद्यालयमै भूटानी शरणार्थी समुदायका यदुराम शर्मा, छविलाल क्षेत्री, चन्द्र क्षेत्रीहरू पनि प्राध्यापनमा थिए। ती सबैसँग सुमनबन्धुको राम्रो सम्बन्ध थियो, अरूले शरणार्थी भनेर त्यति महत्त्व नदिए पनि। ती साथीभाइ कालान्तरमा कोही प्रवासी बने, कोही सम्पर्कमै आएनन्। फिजिक्सका शोधार्थी सुमनबन्धु मोबाइल फोन, सामाजिक सञ्जालमा कहींकतै नजोडिएकाले भेट हुने सम्भावना क्षीण थियो। “संयोग के भने, एक महीनाअघि काठमाडौं एअरपोर्टमा गोविन्दसँग भेट भयो, अनि फेरि हामी जोडियौं। मेरी श्रीमतीको फोन मार्फत फेरि कुराकानी शुरू भयो,” सुमनबन्धु भन्छन्, “गत आइतबार (वैशाख २३) कीर्तिपुरमा भेटिएर निकै गफिएका थियौं। पूर्वी एशियाली मुलुकमा भूटानी शरणार्थीको मुद्दालाई जानकारीमा ल्याउने उपायबारे छलफल भएको थियो।”

यति भनिसक्दा सुमनबन्धुको बोली केही भावुक अनि अड्किए जस्तो सुनियो। कारण थियो- त्यही दिउँसोको त्यो घटना। ठ्याक्कै कति बजेको थियो, घडी नबाँध्ने सुमनबन्धुलाई थाहा छैन। तर अरूले बताए अनुसार २ बजेर ४० मिनेट जतिमा आयुर्वेद अस्पताल (कीर्तिपुर) अगाडि सडकपेटीमै आएर दुर्घटनाग्रस्त भएको गाडीले चेपेर गोविन्दको निधन भएको रहेछ।

सुमनबन्धु सुनाउँछन्, “यतिका वर्षपछि भेट भएको छ, एउटा सेल्फी लिऔं न त भनेर गोविन्दजीले आफ्नै मोबाइलबाट हाम्रो दुई-तीन वटा सेल्फी लिनुभयो। त्यही वेला अप्रत्याशित आवाज सुन्यौं। एउटा गाडी हामीतिरै आइरहेको थियो। तर्कन खोज्दाखोज्दै उहाँलाई गाडीले लाग्यो, म भने बाँचें।”  

अनन्य मित्रसँगको अन्तिम घडीको त्यो सेल्फी गोविन्दको मोबाइलमा सुरक्षित नै हुनुपर्छ। कुनै दिन बाहिर आउला नै!

 

Source: Himal Khabar

Latest Posts

अरुले तोकिदिएको मेरो नियति

चौथो राजा थिम्पुमा जन्मनु भन्दा तीन वर्ष अघि चिराङमा मेरा पिताजी जन्मनु भयो । यी दुई ठाउँको दूरी
Read More

Bhutan Built Berlin Wall is Yet to Fall Down

The pull down of Berlin wall, in 1990, reunified East and West Germany. Many people returned from West
Read More

John McCain in Bhutan

Mc Cain lacks supporters even in this part of the world. One month after the election in the
Read More
No results found.